प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको प्रथम वार्षिकोत्सबको उपलक्ष्यमा राप्रपा अध्यक्षहरुले शुभकामना व्यक्त गरेका छन्।
भर्चुअल अन्तरक्रिया मार्फत शुभकामना दिँदै राप्रपा अध्यक्ष कमल थापाले विधिवत रूपमा राप्रपा एक भई सकेको र आगामी दिनमा राप्रपालाई कांग्रेस र कम्युनिस्टको दाँजोको अग्रणी शक्ति बनाईने वताए। स्वदेश तथा प्रवासमा रहने नेपालीको चाहाना पार्टी एकता र मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माण रहेको बताउँदै उनले कोरोना प्रकोपको कारण पार्टीलाई एकताको स्प्रिट अनुसार अगाडि वढाउन नसकिए पनि आगामि दिनमा सशक्त भएर अगाडि बढने बताए।
उनले ०६२/०६३ को मार्गचित्रको असफलता पछि एकमात्र वैचारिक प्रतिपक्ष राप्रपा भएको बताए।
शुभकामना दिँदै अर्का अध्यक्ष पशुपतिशमशेर राणाले नेपालको चिनारी धर्म, परम्पराले गर्दै आएकोमा धर्म निरपेक्षताले मुलुकको पहिचान गुमेर ठुलो धोका भएको बताए। ठुला दलले न्युनतम ईमानदारी र दक्षता प्रदर्शन गर्न नसकेको वताउँदै राप्रपा मात्र मुलुकको वैकल्पिक शक्ति रहेको बताए। त्यस्तै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले टेलिफोन मार्फत प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए।
सो कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य विजय खडकाले विश्वको २६ देशमा राप्रपा समर्थित प्रवासी नेपाली एकता समाजको सशक्त संगठन रहेको बताए। राजसंस्था, हिन्दुत्व र समृद्ध नेपालको लागि प्रवासमा ठुलो आकर्षण रहेको उनले दाबी गरे।
सो अवसरमा राप्रपा युरोपका अध्यक्ष सुरेन्द्रमान अमात्य, युएईका सल्लाहकार विश्वदेव शाह, कतारका अध्यक्ष गौतम रिजाल, वरिष्ठ सल्लाहकार डा. रामकृष्ण निरौला, समाजसेवी दिनेश पोखरेल लगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया