ad ad

राजनीति


भारतीय विदेश मन्त्रालयको स्पष्टीकरणः बुद्ध नेपालमा जन्मेका हुन् भन्नेमा कुनै सन्देह छैन

भारतीय विदेश मन्त्रालयको स्पष्टीकरणः बुद्ध नेपालमा जन्मेका हुन् भन्नेमा कुनै सन्देह छैन

नेपालखबर
साउन २५, २०७७ आइतबार १३:८,

बुद्धको जन्मस्थान नेपाल भएकोमा कुनै सन्देह नभएको भारतीय विदेश मन्त्रालयले स्पष्ट पारेको छ।

विदेशमन्त्री एस जयशंकरले शनिबार बुद्धलाई महान भारतीय भनेपछि यस विषयमा फेरि विवाद उत्पन्न भएको थियो।

सोबारे स्पष्टीकरण दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन् ‘हिजो विदेशमन्त्रीको टिप्पणी हाम्रो साझा बुद्धिस्ट सम्पदाको विषयमा थियो। गौतम बुद्ध लुम्बिनीमा जन्मिएकामा कुनै सन्देह छैन, जुन स्थान नेपालमा पर्छ।’

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीद्वारा शनिबार आयोजित कार्यक्रममा जयशंकरले भनेका थिए ‘तपाईंले सम्झने अहिलेसम्मकै सबैभन्दा महान दुई भारतीय को हुन्? म भन्छु, पहिलो गौतम बुद्ध र अर्को महात्मा गान्धी हुन्।’

जयशंकरको अभिव्यक्तिको नेपालमा चर्को विरोध भएको थियो।

आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर बुद्धको जन्मस्थान निर्विवाद भएको स्पष्ट पारेको थियो।

‘ऐतिहासिक र पुरातात्विक प्रमाणहरुबाट बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने तथ्य स्थापित भइसकेको छ,’ परराष्ट्रका प्रवक्ताले वक्तव्यमा भनेका थिए , ‘बुद्धको जन्मस्थल लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा पनि समावेश छ।’

‘बुद्धिज्म नेपालबाट संसारका अन्य भूभागमा फैलिएको सत्य हो। यो विषय सन्देह र विवादभन्दा पर छ। त्यसैले यसमा बहस हुन सक्दैन। सारा अन्तर्राष्ट्रिय समुदाय यसप्रति सचेत छ,’ परराष्ट्रको भनाइ छ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा बुद्धको जन्मस्थान नेपाल भएको बताएको पनि परराष्ट्रले उल्लेख गरेको छ।

यसलगत्तै जयशंकरको भनाइबारे भारतीय विदेशमन्त्रालयले स्पष्टीकरण दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .