पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्धलाई भारतीय भनी प्रचार गरेकोमा आपत्ति जनाएका छन्।
सत्तारुढ नेकपाका वरिष्ठ नेता नेपालले सरकारलाई औपचारिक रुपमै भारतसँग कुरा गर्न अनुरोध समेत गरेका छन्।
‘भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ,’ नेता नेपालले भनेका छन्, ‘ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा–नरहँदै बेलाबखतमा भारतीय नेताहरुबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपालको संसदमै ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर स्पष्ट रुपमा उल्लेख गरेको स्मरण गर्दै नेता नेपालले भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुखद् भएको बताएका छन्।
‘यसबारेमा नेपाल सरकारलाई औपचारिक रुपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु,’ नेपालले भनेका छन्।
याे पनि:
भारतका विदेशमन्त्री जयशंकरले पनि दोहोर्याए गौतम बुद्ध भारतीय भन्ने झूठो दाबी (भिडियाे)

प्रतिक्रिया