राजनीति


पशुपतिका पदाधिकारीलाई मन्त्री भट्टराईको चेतावनीः स्वर्ग जाने बाटोमा बसेर नर्क जाने काम नगर्नुस्

पशुपतिका पदाधिकारीलाई मन्त्री भट्टराईको चेतावनीः स्वर्ग जाने बाटोमा बसेर नर्क जाने काम नगर्नुस्

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ९:५२,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आर्थिक लेनदेनमा लाग्ने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका छन्।

पशुपति क्षेत्र विकास कोषको आधिकारीक वेबसाइट, मोबाइल एप्स सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक लेनदेन र गलत क्रियाकलापमा लाग्ने कोषका पदाधिकारी र कर्मचारीलाई कारबाही गर्ने बताएका हुन्।

उनले आर्थिक लेनदेनलाई प्रशय दिएकै कारण पशुपति क्षेत्र भित्र बाटोबाटोमा पसल राख्ने, पार्किङ जथाभावि गर्ने क्रियाकलाप बढेको भन्दै त्यसमा प्रशय दिनेलाई कारबाही गर्ने बताएका हुन्। उनले स्वर्ग जाने बाटोमा बसेर आर्थिक लेनदेन र चलखेलहरु गरी नर्कजाने काम नगर्न समेत आग्रह गरे।

उनले भने, ‘यहाँ भित्र पशुपति क्षेत्रका पदाधिकारी र कर्मचारी साथीहरुलाई पनि भन्न चाहन्छु। कुनै आर्थिक लेनदेनमा कुनै गलत क्रियाकलापमा गलत मानिसहरुलाई प्रशय दिने काम तपाईंहरुबाट भएछ भने तपाईंहरु माथि पनि म कारबाही गर्छु। मैले प्रस्ट ढंगले भनेको छु। किन भने यहाँ कोही पदाधिकारी हुन आउनु, कोही कर्मचारी हुन आउनु भनेको पवित्रता कमाउन आउने हो। धर्म गर्न आउने हो। त्यसैले पवित्रता कमाउने धर्म गर्न आउने ठाउँमा अनावश्यक आर्थिक लेनदेन र चलखेलहरु भएभने त्यो नर्कको बाटो हुन्छ। यो स्वर्ग जाने बाटो हो। पशुपति भनेको।’

उनले पशुपति क्षेत्र भित्र बाटोमा पसल राख्ने, तिर्थालुलाई हिँड्न अप्ठेरो बनाउने, जथाभावी गर्ने र तोकिएको ठाउँमा पार्किङ नगर्नेहरु नै कसले हटाउन सक्छ भन्दै दम्भ देखाउँदै हिँडेको र उक्त कदम सरकारलाई स्वीकार्य नहुने प्रस्ट पारे।

पशुपति क्षेत्रको व्यवस्थापन र विकासका लागि सरकारले गुरुयोजना प्रस्ताव गरेपछि केही स्थानीय मानिसहरु र राजनीतिक व्यक्ति लगायतले विरोध गरिरहेको उल्लेख गर्दै सरकारले बिना विकल्प बासस्थानबाट बेदखल नगर्ने स्पस्ट पारे। तर कुनै राजनीतिक उद्देश्यले, गलत मनसायले र गलत आर्थिक लेनदेनको कारणले सांस्कृतिक सम्पदाहरुको अुनचित ढंगले अतिक्रमण गर्न नपाउने बताए।

उनले भने, ‘कुनै राजनीतिक उद्देश्यले, कुनै समुदायको गलत मनसायले, कुनै गलत आर्थिक लेनदेनको कारणले अथवा अन्य कुनैपनि कारणले सांस्कृतिक सम्पदाहरुको र सांंस्कृतिक सम्पदासँग जोडिएका ठाउँहरुको अनुचित ढंगले त्यसमाथि ज्यादती गर्न पाइँदैन। त्यसमाथि थिचोमिचो गर्न पाइँदैन। त्यसमाथि अतिक्रमण गर्न पाइँदैन।’

मन्त्री भट्टराईले पशुपति क्षेत्रभित्र योजना र मापदण्ड बिना बनाइएका संरचनाहरुलाई हटाउने समेत बताए।

उनले भने, ‘पशुपति क्षेत्र भित्र पनि बिना मापदण्ड, बिना सोच, बिना योजना कुनै संरचनाहरु बनाइएका छन् भने त्यस्ता संरचनाहरु पशुपतिको मापदण्ड अनुरुप नै ढालिनुपर्छ। तब मात्रै दुनियाँका मानिसहरुको लागि एउटा गन्तव्य स्थानको रुपमा जीवित रहने छ। यसमाथि मानव जातिले अनावस्यक ढंगले अतिक्रमण गरेको छ पशुपति माथि भने त्यो अतिक्रमण गर्न पाइँदैन त्यस्ता अतिक्रमणहरुलाई हटाइने छ।’

पशुपति कुनै धर्म सम्प्रदाय र कुनै समुदायको मात्र नभएको उल्लेख गर्दै पहिलो अधिकार नेपाल राष्ट्रको भएको र त्यसपछिको अधिकार पशुपति माथि आस्था विश्वास राख्ने विश्वभरका करोडौं मानिसहरुको भएको बताए। राजनीतिक दाउपेचले नेपालका धार्मिक, सांस्कृतिक सम्पदाहरु लामो समयदेखि दोहन भएको र अहिलेको बलियो सरकारले त्यस्ता सम्पदाहरुको संरक्षण गर्ने बताए।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रको संरक्षण र विकासका लागि गुरुयोजना प्रस्ताव गरिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad