राजनीति


दुई अध्यक्षबीचको वार्ता अनिश्चित बनिरहेका बेला नेम्वाङले भेटे प्रचण्डलाई

दुई अध्यक्षबीचको वार्ता अनिश्चित बनिरहेका बेला नेम्वाङले भेटे प्रचण्डलाई

नेपालखबर
साउन २२, २०७७ बिहिबार ६:१२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटवार्ता भएको छ।

बिहीबार बिहान ९ बजे प्रचण्डलाई भेट्न उपनेता नेम्वाङ प्रचण्डनिवास खुमालटार पुगेका थिए।

दुवै नेताबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा कुराकानी भएको खुमलटार स्रोतले बतायो। ‘अध्यक्ष प्रचण्डलाई भेट्न, उपनेता नेम्वाङ आउनुभएको थियो, उहाँहरुबीच पार्टीभित्र देखिएको विवाद समधानका विषयमा छलफल भएको छ’, स्रोतले नेपालखबरसँग भन्यो।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको र दुई अध्यक्षबीचको संवाद नै अनिश्चित बनेको समयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता नेम्वाङले प्रचण्डलाई भेट्नुलाई चासोका साथ हेरिएको छ।

अध्यक्ष प्रचण्ड–नेपाल समूहले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपाभित्रको लडाइँ पद र प्रतिष्ठाको नभई विधि र पद्दतिको भएको प्रस्ट पारेका थिए।

प्रचण्ड–नेपाल समूहको कार्यक्रमपछि ओली–प्रचण्डबीच बुधबार साँझ बस्ने भनिएको बैठक स्थगित भएको थियो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीचको बैठक बुधबार स्थगित भए पनि बिहीबार बिहान बस्ने बताएका थिए। तर, बिहीबार मध्यान्हसम्म ओली–प्रचण्डबीच छलफल हुन सकेको छैन।

असार १० गते बसेको नेकपा स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सरकार र पार्टीको कामकारबाही सन्तोष जनक नभएको भन्दै ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने बताएपछि विवाद उत्कर्षमा पुगेको थियो। विवाद समधानका लागि भन्दै दुई अध्यक्ष र अन्य नेताहरुबीच पटक पटक छलफल भए पनि अहिलेसम्म समाधान निस्कन सकेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad