सभामुख अग्निप्रसाद सापकोटाले जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लीलादेवी सिटौलालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्।
सिंहदरबारस्थित संघीयय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले खसआर्य समावेशी समूहबाट निर्वाचित भई शपथ लिएकी हुन्। सो अवसरमा सभामुख सापकोटाले सांसद सिटौलालाई सदस्य पदको प्रतीकचिह्न अंकित लकेट प्रदान गरेका थिए।
तत्कालीन जनता पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सरिता गिरीलाई पार्टीले बर्खास्त गरेपछि उक्त पद रिक्त थियो। भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्शामा समावेश गरेका विषयमा गिरीले दिएको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको ठहर गर्दै पार्टीले उनलाई सांसदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको क्रमसंख्या १९ र खसआर्य समावेशी समूहको क्रमसंख्या २ मा रहेकी सिटौलालाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेको हो। तत्कालीन नेकपा (माले) को विद्यार्थी संगठनबाट २०४४ सालमा राजनीतिमा प्रवेश गरेकी सांसद सिटौला जसपाका संस्थापक सदस्य पनि हुन्।
झापाको अर्जुनधारामा २०२८ माघ ८ गते जन्मेकी सिटौलाले सञ्चारकर्मीका एक प्रश्नमा नेपाली माटो र जनताप्रति कटिबद्ध भई राष्ट्रिय हित र जनजीविकासँग जोडिएका विषयमा आफूले आवाज उठाउने बताइन्। रासस
Shares

प्रतिक्रिया