राजनीति


ओलीको नयाँ प्रस्ताव : मंसिरमा महाधिवेशन गराएर अध्यक्ष छोड्छु

ओलीको नयाँ प्रस्ताव : मंसिरमा महाधिवेशन गराएर अध्यक्ष छोड्छु

नेपालखबर
साउन ३, २०७७ शनिबार १६:६,

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन पार्टीभित्रबाट आएको दबाब सामना गर्ने क्रममा नयाँ प्रस्ताव अगाडि सारेका छन्।

शनिबार बालुवाटारमा भएको पार्टीको सचिवालय बैठकमा ओलीले मंसिरमा महाधिवेशन गराएर अध्यक्षबाट हट्न चाहेको भन्दै ‘सम्मानजनक रुपमा जिम्मेवारी हस्तान्तरण गर्ने अवसर दिन’ आग्रह गरेको सचिवालयका एक नेताले बताए।

‘केही दिन अघिदेखि नै दुई अध्यक्षबीच सहमतिका लागि विभिन्न विकल्पबारे छलफल त भइरहेकै थियो’, सचिवालयका ती सदस्यले भने, ‘आज चाहिँ प्रधानमन्त्रीले चाँडै महाधिवेशन गरेर आफुले पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्न चाहेको बताउनु भएको छ।’

तर ओलीले प्रधानमन्त्री चाहिँ पाँच वर्ष नै आफैं रहने बैठकमा घोषणा पनि गरे।

‘महाधिवेशन गरेपछि पार्टी अध्यक्षबाट हट्छु, सरकार चाहिँ पाँच वर्ष नै चलाउँछु’, ओलीको भनाइ उधृत गर्दै ती नेताले भने।

बालुवाटार बैठकबाट निस्केपछि अध्यक्ष ओली र प्रचण्ड शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई सहमतिको गृहकार्यबारे ब्रिफिङ गरेका छन्। राष्ट्रपतिकै अगाडि ओलीले मंसिरमा महाधिवेशन गराएर अध्यक्ष छोड्ने बताएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही विश्वस्त देखिएको स्रोतहरूले बताएका छन्।

अर्का एक जना सचिवालय सदस्यका अनुसार ओलीको प्रस्तावमा प्रचण्डले खासै प्रतिक्रिया जनाएनन्। यसलाई वरिष्ठ नेता माधवकुमार नेपालले चाहिँ दुई जना अध्यक्ष मिलेको प्रमाणजस्तो माने र, आफुले बोल्ने क्रममा उनले दुई अध्यक्षबीच मात्र होइन प्याकेजमा सहमति हुनु पर्ने बताए।

‘अहिलेको समस्या दुई जना अध्यक्ष बीचको मात्र होइन र, दुई जना मात्रै मिलेर समाधान पनि हुँदैन’, नेपालको भनाइ थियो, ‘प्याकेजमा सहमति गरौं, नत्र म देशव्यापी अभियानमा जान्छु।’

प्रधानमन्त्रीको राजीनामा नमागिएपछि आजको बैठक शान्त देखिएको थियो। सचिवालयका अन्य नेताहरूले ओलीसँग लिखित प्रस्ताव ल्याउन आग्रह गरेका छन्।

ओलीले केही दिनयता प्रचण्डसँग भएका वार्तामा ‘प्रधानमन्त्री बन्ने भए अर्को चुनाव कुर्न र पार्टीमा एकल अध्यक्ष बन्ने भए महाधिवेशन पर्खन’ भन्दै आफुले अहिले प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने बताउँदै आएका थिए।

सहमतिको प्रस्ताव लिखित ल्याउन आग्रह भएपछि थप गृहकार्य गरेर प्रस्ताव तयार गर्ने भन्दै बैठक रोकिएको छ।

प्रचण्डलाई कार्यकारी अध्यक्षको पूर्ण अधिकार दिने र ओलीले पाँच वर्ष नै सरकार सञ्चालन गर्ने गरी प्रस्ताव ल्याउने तयारी रहेको बताइएको छ। सहमतिको प्रस्तावमा वरिष्ठ नेता नेपाललाई समेत चित्त बुझाउने गरी शक्ति बाँडफाँटका लागि गृहकार्य हुने बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad