ad ad

राजनीति


सीमा क्षेत्रमा भएको डुबानलाई लिएर नेपालले भारतसँग वार्ता गर्ने

सीमा क्षेत्रमा भएको डुबानलाई लिएर नेपालले भारतसँग वार्ता गर्ने

नेपालखबर
साउन २, २०७७ शुक्रबार १२:१२,

नेपालले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा भारतीय पक्षसँग वार्ता गर्ने भएको छ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले शुक्रबार मन्त्रालयका उच्च अधिकारीलाई भेला गरी वार्ता गर्न निर्देशन दिएका हुन।

मन्त्री पुनले सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि ‘बाढी तथा डुबान व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त समिति (जेसीआइएफएम) को बैठक तत्काल डाक्नेबारे भारतीय पक्षसँग वार्ता गर्न निर्देशन दिए। दुवै देशका सह–सचिव रहने उक्त समितिको नेतृत्व नेपालका तर्फबाट सिंचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले गर्नेछन्।

‘बाढी र डुबानका कारण तराई क्षेत्रमा समस्या बढेको छ’, मन्त्री पुनले भने, ‘समस्या समाधानका लागि तत्काल भारतीय पक्षसँग सम्पर्क गरेर जेसीआइएफएमको बैठक डाक्नुस्।’ मन्त्री पुनले वर्षातको समयमा बाढी पहिरोको उच्च जोखिम हुने भएकाले पूर्वानुमानका साथै सम्भावित विपद न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि निर्देशन दिए। ‘बाढी, पहिरो र डुबानका कारण मानवीय र अरु क्षति नहोओस् भन्नेमा सचेत भएर काम गर्नुस्’, उनले भने, ‘यदि अकल्पनीय अवस्था आएमा जनशक्ति र साधनश्रोतको कमी नहोओस्।’

मन्त्री पुनले मन्त्रालयको राजनीतिक नेतृत्वका हिसाबले साधान श्रोतको कुनै कमी हुन नदिने स्पष्ट गर्दै आपतकालीन अवस्थामा मन्त्रिपरिषदबाट निर्णय गरेर भए पनि उद्धार तथा प्रकोप रोकथाममा लाग्न कर्मचारीलाई निर्देशन दिए। यस्तै बाढी पहिरोको अवस्थाबारे जिल्लास्थित मन्त्रालयअन्तर्गतका निकायहरुबाट सूचना संकलनको व्यवस्था मिलाउन र नियमित रिपोर्टिङ गर्न पनि उनको निर्देशन छ।

नियमित कार्यतालिकाअनुसार जेसीआइएफएमको बैठक हरेक वर्ष नोभेम्बर महिनामा बस्ने गरेको सिंचाइ मन्त्रालयका सचिव रवीन्द्रथान श्रेष्ठले जानकारी दिए। ‘नियमित बैठक नोभेम्बरमा बस्ने हो’, श्रेष्ठले भने, ‘मन्त्रीज्यूबाट निर्देशन भएअनुसार हामी तत्काल वार्ताका लागि भारतीय पक्षलाई खबर गछौं।’ सचिव श्रेष्ठले भारतीय पक्षसँग अनौपचारिक तहमा भने समस्या समाधानबारे कुराकानी भइरहेको बताए। छलफलमा सचिव श्रेष्ठ, विभागका महानिर्देशक राजभण्डारी, उप–महानिर्देशक प्रदीप थापालगायतले बाढी, पहिरो र डुबानको अवस्थाबारे मन्त्री पुनलाई अवगत गराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .