संसदको महिला तथा सामाजिक समितिले महिलाकाे घरेलु श्रमको मूल्यलाई मापन गरी राष्ट्रिय आयमा गणना गर्न सरकारलाई निर्देशन दिएकाे छ।
बुधबार बसेकाे समित बैठकले महिलाहरु घरेलु काममा व्यस्त भएपनि श्रम मूल्यको गणना नगरिनु न्यासंगत नभएको ठहर गर्दै घरेलु श्रमको मूल्यलाई मापन गरी राष्ट्रिय आयमा महिलाको योगदानको गणना र कुल गार्हस्थ उत्पादनमा गणना गर्ने व्यवस्था मिलाउन सरकार, महिला, बालबालिका मन्त्रालय, राष्ट्रिय महिला आयोग र केन्द्रीय तथ्याङ्क विभागलाई निर्देशन दिएको हाे।
लामो समयदेखि पदाधिकारी विहीन रहेको राष्ट्रिय महिला आयोगमा सिघ्र पदाधिकारी नियुक्त गर्नसमेत संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
पदाधिकारी नियुक्ति नहुँदा नीतिगत कामहरु समेत गर्न समस्या भएकाले उल्लेख गर्दै समितिले तत्काल अध्यक्ष लगायतका पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको हो। यसका लागि आवश्यक समन्वय गर्न समितिले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन समेत दिएको छ।
लैगिंक समानता, महिला सशक्तिरण एवं लैंगिक न्यायको लागि बहुआयामिक दृष्टिकोणबाट कार्यसम्पादन गर्नुपर्ने भएपनि पदाधिकारी अभावमा सो काम हुन नसकेको समिति सभापति निरुदेवी पालले बताइन्।
यस्तै महिला माथि हुने घरेलु हिंसा, चेलिबेटी बेचबिखन, र विभिन्न प्रकारका हिंसाबाट पीडित महिलाहरुको न्यायमा पहुँचलाई सुनिश्चित गर्न प्रदेशस्तरमा कार्यालय आवश्यक रहेकोले सो सम्बन्धमा आवश्यक व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको सभापति पालले बताइन्।
लामो समयसम्म पनि संवैधानिक आयोगहरु भाडाका घरमा बसिरहेका कारण भाडामा मात्रै ठूलो रकम खर्च भएकाले सरकारी स्वामित्वमा रहेका खाली भवनहरुमा व्यवस्था गर्न शहरी विकास मन्त्रालयलाई पनि समितिले निर्देशन दिएको छ।
प्रतिक्रिया