नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राम र राम जन्मभूमिबारे दिएको मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले सोमबार राम जन्मभूमि नेपालकै पर्सा जिल्लामै भएको र भारतमा रहेको अयोध्या भारतले नक्कलीरुपमा निर्माण गरेको दाबी गरेका थिए।
‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु,’ उपाध्यक्ष गौतमले मंगलबार त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु।’
गौतमले प्रधानमन्त्री ओलीलाई दुई वर्ष पहिले बालुवाटारमा भेट्दा समेत त्यस बिषयमा चर्चा गरेको स्मरण गर्दै आफूले प्रधानमन्त्रीलाई त्यस सम्बन्धमा विना अनुसन्धान, विना तथ्य प्रमाण कहीँ कतै त्यस्तो धारणा व्यक्त नगर्न भनी सल्लाह दिएको बताएका छन्।
‘मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो,’ गौतमले भनेका छन्, ‘नभन्दै हिजो तथ्य प्रमाणविना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो।’
गौतमले मुलुकको प्रधानमन्त्री र सत्ताधारी पार्टीको अध्यक्ष समेत रहेका ओलीले चाहदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा भएको हुँदा अनुसन्धान गर्न आग्रह गरेका छन्।
‘उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नु पर्दथ्यो,’ उनले भनेका छन्।
गौतमले भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक नपर्ने भए पनि रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेका हुँदा त्यसप्रति ध्यान दिनुपर्ने बताएका छन्।
‘यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौ। नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रसंशा गरिरहिने छ। संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन्,’ गौतमले भनेका छन्, ‘उनीहरुको धार्मिक आस्थामा चोट पुर्याउने क्रियाकलाप गर्न कसैले हुदैन। त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न। यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहन्छौ।’

प्रतिक्रिया