सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सकिएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच डेढ घण्टा एक्ला–एक्लै वार्ता भएको हो।
झण्डै एक हप्तापछि भएको दुई अध्यक्षबीचको वार्तामा के भयो भन्नेबारे औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन।
‘दुई अध्यक्षबीच डेढ घण्टा वार्ता भयो तर के के भयो भन्ने बारेमा जानकारी दिइएको छैन’, प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले नेपालखबरसँग भने।
आज कुनै ठोस सहमति नभए पनि दुई अध्यक्षबीच भोलि फेरि छलफल हुने तय भएको छ।
उता प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईँले पनि दुई अध्यक्षबीच राम्रो वातावरणमा छलफल भएको बताए। ‘कुनै सहमतिको बारेमा जानकारी दिइएको छैन’, नेपालखबरसँग बजगाईँले भने, ‘सहमति भएकै भए पनि तत्काल देखिँदैन, विस्तारै देखिन्छ।’
अघिल्लो हप्ताको बुधबार–एक्ला एक्लैको भेटमा ओली र प्रचण्डबीच भनाभनसमेत भएको थियो। सोही क्रममा ओली उठेर हिँडेपछि प्रचण्ड पनि खुमलटार फर्किएका थिए। त्यसयता ओली प्रचण्डबीच पहिलो पटक भेट भएको हो।
२६ गतेका लागि तय गरिएको स्थायी समितिको बैठक स्थगित गरेर साउन २ गतेको लागि सारिएको थियो।
असार १० गतेदेखि बसेको स्थायी कमिटीको बैठकमा सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै ओलीको राजीनामा माग भएपछि नेकपाभित्र तीव्र विवाद चुलिएको छ। ओलीको राजनीनामा माग गरेकै कारण नेकपा झण्डै फुट नजिक पुगेको थियो। पार्टी फुट्ने खतरा बढेपछि बैठक रोकेर ओली–प्रचण्ड छलफलमा जुटे पनि कुनै सहमति बनेको छैन।

प्रतिक्रिया