प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले देशका विभिन्न भागमा गएको बाढी पहिरोबाट भइरहेको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
आइतबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी सभामुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिसँग जुध्दै गर्दा असार २४ गते यताको निरन्तरको भारी वर्षाका कारण देशका अधिकांश जिल्लाहरुमा बाढी, पहिरो र डुबानले ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै दुःख प्रकट गरेका हुन्।
दुवै सदनका प्रमुखले सरकारका तर्फबाट पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितहरुको पुनस्थापनाका लागि प्रयास भइरहेको प्रयासलाई गुणात्मक रुपमा बढाउन आग्रह गरेका छन्।
‘विपदबाट बच्चे उत्तम उपायहरु जोखिमयुक्त क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन, पूर्व तयारी गर्न, पूर्व सूचना प्रणालीको विकास र यसको उच्चतम प्रयोग गरी विपद्बाट बच्न र क्षतिको न्यूनिकरणगर्न हामीसंग उपलब्ध सबैखाले स्रोत, साधन र संयन्त्रको उच्चतम प्रयोग गर्न अनुरोध गर्दछु’ सभामुख सापकोटाले भनेका छन्।
यस्तै, अध्यक्ष तिमिल्सिनाको विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसद अधिवेशन अन्त्य भएको यस अवस्थामा सम्पूर्ण माननीय सदस्यहरुलाई आ-आफ्नो क्षेत्रमा आवश्यक सहयोग, समन्वय गर्न अनुरोध गर्दछु। अझ केही समय मनसुन सक्रिय रहने हुँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई सचेत, सजग र सुरक्षित रहन समेत आब्हान गर्दछु।’

प्रतिक्रिया