निम्न वर्गीय समुदायले किनमेल गर्ने बजार भनेर चिनिएको काठमाडौं उपत्यकाको भृकुटीमण्डप बजार खुले पनि ग्राहक नआउँदा सुनसान छ।
लकडाउनका कारण तीन महिनासम्म बन्द रहको बजार असार १५ गतेदेखि खुलेको हो।
लकडाउनका कारण चैत महिना यताको भाडा तिर्न नसकिएको र व्यापार नै नभएपछि दैनिकी चलाउन समेत कठिन भएको व्यवसायीहरुले बताएका छन्।
करिब १३ सय पसल रहेको यो बजार लुगा, चुत्ताचप्पल इलेक्ट्रोनिक सामान किनमेल गर्नका लागि सजिलो बजार पनि हो। सस्तोमा सामान पाउने भएपछि निम्न वर्गीय समुदायका मानिसहरु किनमेल गर्न जाने यो बजार लकडाउनको तीनमहिना बन्द रहे पनि अहिले भने खुलेको छ।
भृकुटीमण्डमा व्यापार गर्ने साना व्यवसायीहरुको संगठन काठमाडौं निम्न व्यापारी संघका सहअध्यक्ष चिन्तामणि प्रसाईंले अझै पनि पूर्णरुपमा पसलहरु खुल्न नसकेको बताए। लकडाउन सुरु हुन भन्दा अघि नै चैत ७ गते देखि नै बजार बन्द भएकाले कतिपय व्यापारीहरु गृह जिल्ला पुगेकाले अझै केही पसल खुल्न नसकेको प्रसाईंले बताए। उनले सरकारले असार १ गतेदेखि बजार खोल्न दिएपनि भिडभाड हुने बजार भएकाले १५ गतेदेखि मात्रै खोलेको उनले बताए।
कोरोना संक्रमणको अवस्थालाई ध्यान दिई बिहान १० बजेदेखि साँझ ६ बजेसम्मका लागि बजार खुल्ला गरिए पनि ग्राहक नआएकाले सुनसान रहेको बताए। उनले ग्राहक नभए पनि दैनिकी चलाउन सजिलो हुन्छ कि भन्ने आशामा पसल खोलिएको बताए।
लकडाउन अघि दैनिक १५÷२० हजारको व्यापार हुने गरेकोमा अहिले बोहनीसमेत हुन नसकेको व्यापारीहरुले बताएका छन्। पसल खोलेको झण्डै १५ दिन भइसक्दा पनि व्यापार हुन नसकेको व्यवसायी बोधराज थापाले बताए। उनले जनजीवन सहज नभएसम्म ग्राहक आउने सम्भावना नरहेको बताए।
भृकुटीमण्डपमा अहिले करिब १३ सय पसल रहेका छन्। प्रत्येक पसलले प्रति स्क्वारफुट महिनाको १४ रुपैयाँका दरले हरेक महिनाको १५ गतेभित्र भाडा तिर्नुपर्छ। लकडाउनपछि खुलेको बजारमा व्यापार नहुँदा भाडा तिर्न समेत पैसा नभएकाले चैत महिना यताको भाडा तिर्न नसकेको व्यवसायीहरु बताउँछन् । उनीहरुले व्यापार नै नभएपछि दैनिक गुजारा चलाउन समेत कठिन भएको बताएका छन्।

प्रतिक्रिया