राजनीति


चितवनबाट फर्केपछि प्रधानमन्त्रीसँग वार्ता हुन्छ : प्रचण्ड

चितवनबाट फर्केपछि प्रधानमन्त्रीसँग वार्ता हुन्छ : प्रचण्ड

नेपालखबर
असार २७, २०७७ शनिबार १०:२३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवनबाट फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता हुने बताएका छन्।

बाढी–पहिरो र कटानका बारेमा जानकारी लिन शनिबार दिउँसो गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले भरतपुर वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको निरीक्षण गरेका थिए।

कटान क्षेत्रको निरीक्षणपछि स्थानीयसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले चितवनमा बाढी र कटानको खबर सुनेपछि आफू प्रधानमन्त्रीसँगको वार्ता रोकेर यता आएको बताए।

‘प्राकृतिक विपत्ति पहिला हो भनेर मैले आज प्रधानमन्त्रीसँग हुने वार्ता रोकेर तपाईहरुलाई भेट्न आएको हुँ’, प्रचण्डको भनाई उद्धृत गर्दै राष्ट्रिय युवा संघका नेता सन्तोष पनेरुले नेपालखबरसँग भने, ‘प्रधानमन्त्रीसँग म यहाँबाट फर्केपछि वार्ता हुन्छ।’

 पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्डले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताए। उनले कटानको अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताए।

अध्यक्ष प्रचण्डले कटान रोक्नका लागि तत्कालिन काम अगाडि बढाइएको र यसको दीर्घकालीन रुपमा समधान गर्ने बताए। उनले आफू निर्वाचित भएदेखि नै राप्ती र नारायणीमा तटबन्धसहितको चक्रपथ अघि बढाएको बताए। उनले विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन कार्य भइसकेको र बजेटका लागि अर्थ मन्त्रालयमा कुरा भईरहेको बताए।

नारायणको कटानको अवलोकन गरेलगत्तै अध्यक्ष प्रचण्ड माडी पुगेका छन् माडीमा शुक्रबार रिउ खोलामा आएको बाढीमा परेर एक जनाको मृत्यु हुनका साथै अर्का एक जना बेपत्ता रहेको र प्रचण्डले सो क्षेत्रको निरीक्षण पछि मृतक र बेपत्ताका परिवारलाई भेटने कार्यक्रम रहेको युवा संघका नेता पनेरुले बताए।

 अविरल वर्षपछि शुक्रबारबाट सो क्षेत्रमा नारायणीले कटान गर्न शुरु गरेको हो। दाहाललाई यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्ण भुर्तेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदी कटानका बारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad