भारतका रक्षामन्त्री राजनाथ सिंहले चिनियाँ सेनासँग तनाब बढिरहेको पूर्वी सीमाक्षेत्र लद्दाखबाट सुरक्षा फौज फिर्ता गर्ने बारेमा समीक्षा बैठक गरेका छन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार सो समीक्षा बैठकमा भारतको डिफेन्स स्टाफ प्रमुख जनरल बिपिन रावत, सेना प्रमुख एमएम नरवाणे, नौसेना प्रमुख करमबीर सिंह र वायुसेनाका मार्सल आरकेएस भदौरिया लगायत वरिष्ठ सैन्य अधिकारीहरु सहभागी थिए।
सो बैठकमा जनरल नरवाणेले भिडन्त भएका विवादास्पद सीमाक्षेत्रबाट दुवै तर्फका सेना फिर्ता गर्ने कामको पहिलो चरणको कार्यान्वयनको स्थितिबारे विस्तृत विवरण दिएका थिए।
विवादास्पद क्षेत्रबाट सैन्य फौज फिर्ता गर्ने पहिलो चरणको काम सकिनै लाग्दा भारत र चीन दुवै तर्फका सैनिक कमाण्डरहरुले अर्को साताको सुरुमै वार्ता गर्ने तयारी गरिएको छ।
सो वार्ताले दुवै तर्फबाट ती क्षेत्रलाई सैन्यरहित बनाउने मोडालिटीलाई अन्तिम रुप दिने बताइएको छ।
दुवै पक्षले अहिले गलवान भ्याली, गोग्रा र हट स्प्रिङका तनावग्रस्त क्षेत्रमा तीन किलोमिटरको बफर जोन बनाएका छन्।
त्यसैगरी प्यागोंग त्सोस्थित फिंगर फोरबाट पनि सैन्य उपस्थिति पातलो बनाउँदै लगेका ती सञ्चारमाध्यमहरुले जनाएका छन्।
केहि हप्ताअघि चीनियाँ सेनासँगको मुठभेडमा २० भारतीय सैनिक मारिएपछि सो क्षेत्रमा केहि हप्तासम्म तनाव बढेको थियो।

प्रतिक्रिया