ad ad

राजनीति


प्रहरी मुख्यालयबाट बिदा हुँदै ज्ञवालीले भने: प्रहरीमा सुधार गर्नुपर्ने प्रशस्त ठाउँ छन्

प्रहरी मुख्यालयबाट बिदा हुँदै ज्ञवालीले भने: प्रहरीमा सुधार गर्नुपर्ने प्रशस्त ठाउँ छन्

नेपालखबर
असार २४, २०७७ बुधबार १४:१२,

तीस वर्ष सेवा अवधि पुरा गरी प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली सेवानिवृत्त भएका छन्।

बुधबार प्रहरी प्रधान कार्यालयले महानिरीक्षक ज्ञवालीसहित अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणी प्रसाद लम्साल र डीआईजी सूर्यप्रसाद उपाध्यायलाई बिदाइ गरेको छ।

तीनै जनालाई नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फूलमाला लगाई बिदाइ गरे।

बिदाइ समारोहलाई सम्बोधन गर्दै ज्ञवालीले आफ्नो कार्यकालमा संगठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीहरुको कार्यक्षमता तथा कार्यकौशल अनुरुपको मूल्याङकन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने र संगठनका हरेक सदस्यको संगठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको जिकिर गरे।

कोरोना भाइरसको विश्वव्यापी संक्रमणको प्रकोपको कारण राज्यसँगै प्रहरीको प्राथमिकता र कार्यशैलीले अनपेक्षित मोड लिन बाध्य भएको ज्ञवालीको भनाई छ।

तर यस्तो अवस्थामा पनि आफ्नो दृष्टिकोणलाई डगमगाउन नदिई संगठनमा प्रहरी कर्मचारीको वृत्तिविकास लगायतका विविध सुधारका पक्षलाई गति दिएको उनले बताए।

प्रहरी सेवा नागरिकहरुकै लागि भएको तर त्यसका लागि दुवै पक्षबीच परस्पर सहकार्य, सदभाव र तालमेल पनि आवश्यक रहेको चर्चा गर्दै ज्ञवालीले भने, ‘दिनेले सेवा दिएँ भनेर मात्र पनि पर्याप्त हुँदैन, सेवा पाउनेले पनि पाएको महसुस गर्नुपर्छ। प्रहरी कर्मचारीहरुमा उत्तरदायी सेवा प्रवाह र व्यवहारमा सुधार गर्नु पर्ने धेरै कुरा छन्।’

लामो र वृहत इतिहास तथा भविष्य भएको प्रहरी संगठनलाई समाजमा स्थापित गर्न आन्तरिक एकता र नागरिकको विश्वासले महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसलाई जोगाउन भावि नेतृत्व अझै प्रयासरत रहनुपर्नेमा उनको जोड छ।

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतलाई दीर्घ सेवा सम्मान प्रदान गरेका छन्।

सेवानिवृत्त हुन लागेका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पु¥याएको योगदानका लागि नेपाल प्रहरीको तर्फबाट कृतज्ञता व्यक्त गरे।

सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरुको व्यावसायिक इमानदारिता, नेतृत्व क्षमता र सादा जीवन बारे चर्चा गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीले सेवानिवृत्त भएपछि पनि संगठनको संस्थागत हितका लागि आगामी दिनमा सल्लाह र सुझावको अपेक्षा रहने बताए।

बिदाई समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक हरि पाल, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .