ब्राजिली राष्ट्रपति जायर बोल्सोनारोले आफूलाई कोरोना भाइरस संक्रमण भएको बताएका छन्।
लक्षण देखिएपछि बोल्सोनारो सोमबार जँचाउन अस्पताल गएका थिए। उनलाई ज्वरो र खोकीको समस्या रहेको ब्राजिली सञ्चारमाध्यमले जनाएका छन्।
बोल्सोनारोले पटकपटक कोरोनाको जोखिमलाई बेवास्ता गर्दै आएका छन्। उनी लकडाउन विरुद्धको प्रदर्शनमा समेत सहभागी भएका थिए।
मुलुकका स्वास्थ्य अधिकारीले महामारी रोक्न लकडाउन गर्नुपर्ने सुझाव दिइरहँदा बोल्सोनारोले यसलाई सामान्य रोगका रुपमा लिन आग्रह गर्दै आएका थिए। उनले यो ‘रुघाखोकी’ मात्र भएको बताएका थिए।
गत केही महिनामा बोल्सोनारोका थुप्रै सहयोगी संक्रमित बनेका थिए।
अमेरिकापछि कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो, ब्राजिल। जहाँ हालसम्म १६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ६५ हजार बढीले ज्यान गुमाइसकेका छन्।एजेन्सी

प्रतिक्रिया