राजनीति


नेकपामा विवाद चुलिएका बेला चिनियाँ राजदूतले माधव नेपालसँग भेटिन्

नेकपामा विवाद चुलिएका बेला चिनियाँ राजदूतले माधव नेपालसँग भेटिन्

नेपालखबर
असार २१, २०७७ आइतबार १७:३२,

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै सत्तारुढ दलभित्र चरम विवाद भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेकी छन्।

नेकपाको निर्णायक हुनसक्ने अनुमान गरिएको स्थायी कमिटी बैठक सोमबारका लागि तय भएको छ। सो बैठकको पूर्वसन्ध्यामा आइतबार साँझ राजदूत होउले पूर्वप्रधानमन्त्री नेपाललाई भेट गरेकी हुन्।

नेपालनिकट एक नेताका अनुसार भेटवार्ता गर्न राजदूत हाउ आइतबार बेलुका उनको निवास कोटेश्वर पुगेकी थिइन्।

ती नेताका अनुसार राजदूत होउले प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटिसकेको हुनुपर्छ।

‘पहिले प्रधानमन्त्री तथा अध्यक्ष ओली, त्यसपछि अर्का अध्यक्ष प्रचण्ड, अनि माधव नेपाल र आवश्यकता अनुसार अरु नेताहरु भेट्ने उनीहरुको प्रचलन हो। आफ्नो अभ्यास उनीहरुले हतपती तोड्दैनन्’, नेकपा ती नेताले भने, ‘सायद दुई अध्यक्षलाई भेटेपछि माधव नेपाललाई भेटेको हुनुपर्छ।’

करिब दुई महिनाअघि पनि नेकपाभित्र शीर्ष नेताहरुबीचको विवादले गम्भीर मोड लिएका बेला राजदूत होउको समेत सक्रियतापछि साम्य भएको मानिएको थियो।

‘सत्तारुढ पार्टी भएकाले नेपालसँगको भेटमा राजदूत होउले नेकपामा देखिएको विवादबारे पनि जिज्ञासा राख्नु स्वाभाविक हो’, ती नेता भन्छन्, ‘पार्टीभित्रको विवादले जनातामा निराशा नजन्माओस् र अस्थिरता नबढोस् भन्ने चिन्ता राजदूतले राखेको बुझिएको छ।’

आइतबार प्रचण्ड, नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् भने त्यसलगत्तै दुई अध्यक्षबीच बालुवाटारमा वार्ता भएको छ।

आइतबारको वार्तापछि विवाद मत्थर हुने सम्भावना बढेको नेताहरूले बताएका छन्।

दुई अध्यक्षको टोलीबीच भएको छलफलले चार नेतालाई सहमतिको खाका तयार गर्ने जिम्मेवारी दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad