ad ad

राजनीति


राष्ट्रपतिसँग नेताहरुको भेटवार्ताका सूत्रधार बनेका थिए मन्त्री भट्टराई

राष्ट्रपतिसँग नेताहरुको भेटवार्ताका सूत्रधार बनेका थिए मन्त्री भट्टराई

नेपालखबर
असार २१, २०७७ आइतबार १४:७,

पर्यटन मन्त्री योगेश भट्टराईले आइतबार तीन नेता र राष्ट्रपतिबीच भएको भेटवार्ताका लागि सूत्रधारको भूमिका खेलेका छन्।

नेकपा विवादमा बालुवाटार, शितलनिवास र असन्तुष्ट नेताहरुको गठबन्धन पक्षबीच आपसी अविश्वास बढिरहेका बेला मन्त्री भट्टराईले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तीन नेता र राष्ट्रपतिबीच भेट गराउने सूत्रधारको भूमिका खेलेका हुन्।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्टीका कार्यकारी प्रचण्ड र दुई वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।

स्रोतका अनुसार सो भेटका लागि स्थायी कमिटी सदस्य तथा पर्यटन तथा संस्कृति मन्त्री भट्टराईले संयोजन गरेका हुन्।

‘मन्त्री भट्टराईले नेताहरुलाई राष्ट्रपति भण्डारीसँग भेटी आपसी अविश्वास मेटाउनका लागि कन्भिन्स गर्नुभएकाे हाे,’ एक स्थायी कमिटी सदस्यले भने, ‘त्यसमा अर्का मन्त्री घनश्याम भुसालले समेत सहयाेगी भूमिका निर्वाह गर्नुभएको हो।’

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष प्रचण्ड पक्षबीच चर्को विवाद हुँदा राष्ट्रपति भण्डारीसमेत विवादमा तानिएकी थिइन्।

शनिबार प्रधानमन्त्री ओलीले मन्त्रीहरु र सल्लाहकारहरुसँग गरेको छलफलमा समेत आफूलाई हटाउन र राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने तयारी भएको बताएका थिए।

त्यसपछि दुई पक्षबीच थप मनमुटावको स्थिति सिर्जना भएको थियो।

एक पक्षले प्रचण्ड, खनाल र नेपालसहितका नेताहरु राष्ट्रपतिविरुद्ध महाअभियोग ल्याउने तयारी गरिरहेको बताएपछि राष्ट्रपतिलाई आशंका उब्जेको थियो भने उता तीन नेताहरुको गठबन्धनले पनि राष्ट्रपतिले प्रधानमन्त्रीलाई अनावश्यक कदममा समेत सहयोग गरिरहेको गुनासो गरेका थिए।

प्रधानमन्त्रीले राजनीतिक दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गर्दा राष्ट्रपतिले त्यसमा सहयोगी भूमिका खेलेको आरोप छ।

‘तीन पक्षबीचको यहि आपसी अविश्वास मेटाउन भेटवार्ताका लागि जोड दिइएको हो,’ स्रोतले भन्यो।

शितलनिवासमा भएको सो भेटवार्तामा दुवै पक्षबीच खुलस्त कुराकानी भएपछि शनिबारसम्म जारी रहेको तनावपूर्ण अवस्था केहि सहज भएको अनुभूति गरिएको वार्तामा सहभागी नेताहरुले बताएका छन्।

आइतबार तीन नेता र राष्ट्रपतिबीच भेट भएपछि प्रचण्ड र प्रधानमन्त्री ओलीबीच अन्य नेताहरुसहित वार्ता भएकाे थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .