राजनीति


नेकपा विवाद : केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर संकलन सुरु

नेकपा विवाद : केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर संकलन सुरु

मणि दाहाल
असार २१, २०७७ आइतबार १२:१३,

सत्तारुढ नेकपाको जारी गतिरोध अन्त्य गर्नको लागि केन्द्रीय कमिटी बैठकको माग गर्दै सो पार्टीका केन्द्रीय सदस्यहरुले हस्ताक्षर संकलन सुरु गरेका छन्।

केन्द्रीय सदस्य ठाकुर गैरे लगायतका नेताहरुले पार्टीभित्र देखिएको तीव्र मतभेदबारे छलफल गराउन केन्द्रीय कमिटी बैठकको माग गरेर हस्ताक्षर संकलन थालेका हुन्।

पार्टीको असार १० गतेदेखि जारी स्थायी कमिटीे बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि पार्टीका नेताहरु तीब्ररुपमा विभाजित भएका छन्। यसको समाधानका लागि केन्द्रीय कमिटी माग गरिएको नेताहरुले बताएका छन्।

शनिबार ५३ जनाले जुम बैठक आयोजना गरी तत्काल बैठक माग गर्न हस्ताक्षर थालिएको गैरेले नेपालखबरलाई जानकारी दिए।

‘हामी ५३ जना हिजो जुम बैठकमा सहभागी भएका थियौं, सबैले पार्टीमा देखिएको विवादको समाधान केन्द्रीय कमिटी बैठकबाट गर्नुपर्ने बताउनुभयो,’ गैरेले भने, ‘हामीले सुरु गरेका छौं, जिल्लामा रहेका नेताहरुलाई त्यहीबाट हस्ताक्षर गरेर काठमाडौं पठाउन भनेका छौं।’

नेकपाको विधानमा २५ प्रतिशत नेताहरुले माग गरेको खण्डमा बैठक राख्नुपर्ने व्यवस्था छ।

नेकपाको केन्द्रीय कमिटीमा ४ सय ४१ सदस्य छन्।

‘बैठक राख्नुपर्छ, पार्टीमा जारी विवाद त्यहीबाट हल गरेर निकास दिन सकिन्छ भनेर बैठक माग गरिएको हो’, गैरेले थपे।

नेकपाको माघ १५ देखि १९ सम्म केन्द्रीय कमिटी बैठक बसेको थियो।

अमेरिकी आर्थिक सहयोग समेटिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लगायतका विषयमा छलफल गर्न बसेको बैठकले एमसीसी अध्ययन गर्न बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको थियो।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक समेत राख्न नचाहेपछि सो कमिटीका २० जना सदस्यले लिखित रुपमा बैठक माग गरेपछि सो कमिटीको बैठक आह्वान गरिएको थियो।

त्यसपछि पनि पटक पटक स्थगित गरी गतसाताबाट सुरु भएको सो बैठकमा सुरुवातदेखि नै प्रधानमन्त्रीको राजीनामा माग भएपछि अध्यक्ष ओली बैठकमा बस्ने गरेका छैनन्।

नेताहरुबीच विवाद चर्केपछि स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित छ।

यसबीच सहमति जुटाउनका लागि शीर्ष नेताहरुबीच छलफल तीब्र पारिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .