सत्तारुढ नेकपामा चुलिएको विवाद मिलाउँन आज पनि दुई अध्यक्षबीच छलफल हुँदैछ।
स्थायी समितिको बैकठ बस्नुअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग निर्णायक र अन्तिम वार्ताका लागि पुष्पकमल दाहाल प्रचण्ड केहीबेरमा बालुवाटार जाँदैछन्।
वार्तामा को-को बस्छन् प्रष्ट भइसकेको छैन। तर, आज ओली र प्रचण्डबीच निर्णायक वार्ता हुने नेकपा स्रोतले जनाएको छ।
जारी स्थायी समिति बैठकमा सहभागी अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने अडान लिएपछि नेकपामा विवाद चुलिएको छ।
विवाद समाधानका लागि ओली र प्रचण्डबीच शुक्रबार पनि छलफल भएको थियो। तीन घण्टासम्म चलेकाे वार्तामा ओलीले आफ्नो अडान कायम राखेपछि कुनै ठोस सहमति जुटेको थिएन। प्रचण्डले बालुवाटार फर्किएपछि वार्तामा ओलीले आफ्नो अडान नछोडेको बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतलाई जानकारी गराएका थिए।
ओली र प्रचण्डबीचको छलफलपछि आजै स्थायी समिति बैठक बस्ने तयारी छ। पार्टीमा बढेको विवाद समाधानका लागि भन्दै गएकाे बिहीबारदेखि स्थायी समिति बैठक स्थगित छ।

प्रतिक्रिया