नेकपामा सत्ता संघर्ष चुलिँदै गर्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बिहानैदेखि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुसँग आफ्नो निवास खुमलटारमा छलफल गरिरहेका छन्।
खुमलटार स्रोतका अनुसार छलफलमा अध्यक्ष केपि ओली निकटका तीन जना स्थायी कमिटी सदस्यबाहेक ७ जना नेता सहभागी छन्। छलफलमा अध्यक्ष केपी ओली पक्षका तीन स्थायी कमिटी सदस्यबाहेक बाँकी सहभागी रहेका खुमलटार स्रोतले जनाएको हाे।
छलफलमा ओली निकटका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेता सहभागी रहेका स्रोतले जनाएको छ।
‘स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र सत्यनारायण मण्डल प्रचण्डसँगको छलफलमा हुनुहुन्न, बाँकी सबै हुनुहुन्छ,’ खुमलटार स्रोतले भन्यो, ‘उहाँहरुले पार्टी फुटाउन नहुने र त्यसको लागि प्रचण्डले विशेष भूमिका खेल्न आग्रह गर्नुभएको छ।’
सो छलफलमा नारायणकाजी श्रेष्ठ, बर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा र मात्रिका यादव लगायत प्रचण्डनिकट पूर्वमाओवादी नेताहरु पनि सहभागी रहेको एक नेताले बताए।
बिहान साढे ७ बजेदेखि सुरु भएको छलफल सकिए लगत्तै स्थायी समिती बैठकका लागि बालुवाटार जाने नेताहरुको तयारी छ। स्थायी कमिटी बैठक जारी रहँदा नेकपामा सत्ता परिवर्तनको खेल तीब्र भएको छ।
बुधबार ओलीले आफू निकटका मन्त्री र सांसदसँग बालुवाटारमा छलफल गरेका थिए भने प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले झम्सीखेलको एक रेष्टुरेन्टमा आफू निकटका नेताहरुसँग संयुक्त छलफल गरेका थिए।

प्रतिक्रिया