अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परेका बेला आफूले मास्क लगाउने बताएका छन्।
बुधबार तपाईं किन मास्क लगाउनु हुन्न भनेर पत्रकारले प्रश्न गर्दा ट्रम्पले आफूलाई मास्क लगाउन त्यस्तो कुनै समस्या नभएको तर आवश्यक ठाउँमा मात्रै लगाउने जवाफ दिएका हुन्।
समाचार एजेन्सी एएफपीका अनुसार राष्ट्रपति ट्रम्पले निकै कम परिस्थितिमा मात्र मास्क लगाउने गरेको पाइएको छ।
कोरोना महामारीको यो बेला मास्क लगाउनु अत्यन्त आवश्यक देखिएको छ। विश्व स्वास्थ्य संगठनले समेत संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्नाका साथै मास्क लगाउन आवश्यक रहेको बताइसकेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘म त्यस्तो ठाउँ, जहाँ मानिसको भिडभाड छ, त्यहाँ मास्क लगाउँछु।’
फक्स बिजनेससँग साक्षात्कारमा ट्रम्पले यही जवाफ दिएका हुन्। यसअघि ट्रम्पले मास्क बहिष्कार गरेको खबर आएका थिए।

प्रतिक्रिया