प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अतिक्रमित भूमि समेटेर नेपालको नक्सा सँच्याएकै कारण आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपाल भित्रैका शक्तिहरु लागिपरेको बताएका छन्।
‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताउँछ के के भइरहेको छ,’ प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा भने।
तर उनले नेपालको राष्ट्रियता यति कमजोर नभएको र नक्सा छापेकै कारण ‘यस देशको प्रधानमन्त्री हटाउँछु भनेको छ भने, यो नसोचे हुने’ बताए।
उनले आफूलाई प्रधानमन्त्रीमा बसिरहन मन नभएको बताउँदै ‘खोसिएको जमिन फिर्ता गर्न खोजेको र आफूले कुनै गल्ति नगरेको’ बताए।
उनले यतिबेला आफू हटाइएमा प्रधानमन्त्री बन्ने कोहि पनि टिक्नै नसक्ने दाबी गरे।
केहि शक्तिहरु अहिले नै केपी ओलीलाई नहटाई हुँदैन भनि लागिपरेको उनको दाबी छ।
‘यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्ने आँट गर्ने छैन किनभने भोलिपल्टै बर्खास्त हुन्छ,’ उनले भने, ‘त्यसैले म आफ्ना लागि होइन, देशका लागि लडेको हो।’
भिडियाे:
— Nepalkhabar (@nepalkhabar) June 28, 2020यतिबेला म हटेँ भने देशको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन: प्रधानमन्त्री ओली@nepalkhabar pic.twitter.com/0pZNlXqjIa
उनले आफ्नो पार्टी र संसदीय दल यस्ता वहकाऊमा नफस्ने दाबी गरे। ‘कोशिस गर्नेलाई गर्न दिउँ,’ उनले थपे।
आफूहरुले सच्याएर नक्सा सार्वजनिक गरेको र त्यसलाई संवैधानिक रुप समेत दिएकोका ती शक्तिहरु आफ्नाबिरुद्ध लागेको प्रधानमन्त्री ओलीको जिकिर छ।
‘तपाईहरुले सुन्नुभएको हुनुपर्छ, हप्ता १५ दिनभित्र प्रधानमन्त्री परिवर्तन गरिँदैछ भनेर, भारतका मिडिया सुन्नुभएको होला,’ उनले भने, ‘भारतका बौद्धिक बहस सुन्नुभएको होला, कसरी भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ।’
२०७२ सालमा भारतले नबनाऊ भन्दाभन्दै संविधान बनाएको र त्यसकै कारण नाकाबन्दीको सामना गरेको सन्दर्भ उल्लेख गर्दै उनले नेपाल भारतवेष्ठित र खुम्चिएर रहेको परिस्थितिलाई परिवर्तन गर्न खोजेको समेत बताए।
‘हिमाल क्रस गर्न सक्छौं, दुईमध्ये दुवै छिमेकीसँग भुपरिवेष्ठित भएर बस्नु पर्दैन, यातायात र पारवहनमा एक देशबाट मात्रै छेकिएर बस्नु पर्दैन भनेर हामीले मौका पाउने बित्तिकै चीनसँग यातायात तथा पारवहन सन्धि गर्याैं,’ प्रधानमन्त्रीले भने।
त्यो कदम नेपाललाई नयाँ उचाईमा पुर्याउने काम भएको ओलीको भनाई छ।
प्रधानमन्त्री ओलीले उनको पहिलो कार्यकालमा चीनसँग त्यहि यातायात तथा पारवहन सन्धि गरेकै कारण त्यहाँबाट फर्केपछि आफ्नो सरकार ढलेको सम्झाए।
‘अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन भनिएको छ। यहाँहरुलाई सम्झना होला चीनसँग यातायात तथा पारवहन सन्धि गरेर फर्केपछि सरकार ढलेको थियो, किनभने हामीसँग बहुमत थिएन,’ उनले भने।
नक्सा जारी गरेको र त्यसलाई समेट्न संविधान संशोधन गरेको कामलाई ठूलो अपराध गरेको रुपमा प्रस्तुत गर्दै त्यस्तो गर्ने केपी ओलीलाई राख्न हुन्न भनेर सबै लागि परेको उनले दोहोर्याए।
भिडियाे:
नक्सा छापेवापत् प्रधानमन्त्री हटाउने सपना नदेखे हुन्छ: प्रधानमन्त्री ओली @nepalkhabar pic.twitter.com/vU8CdB64CD
— Nepalkhabar (@nepalkhabar) June 28, 2020

प्रतिक्रिया