राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमाथि कारबाही गर्न पाउने प्रस्ताव गरिएकोमा विरोध गरेको छ।
बिहीबार विज्ञप्ति प्रकाशित गरी अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले देशको अर्थव्यवस्था माथि आएको संकटको घडिमा निजी क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन भएको जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘देश ठूलो आर्थिक संकट र बेरोजगारीको भूमरीमा परेको छ। यस्तो अवस्थामा देशको निजी क्षेत्रको मनोवल बढाई साथ लिएर संकटसँग जुध्ने सरकारी रणनीति हुनु पर्ने हो। तर यस्को ठिक विपरित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र बारे तर्जुमा गरिएको नयाँ विधेयकमा अख्तियारले निजी क्षेत्रमाथि कारबाही गर्न पाउने प्रावधान प्रस्ताव गरिएको छ। देशको अर्थव्यवस्था माथि आएको यस संकटको घडिमा निजी क्षेत्रमाथि त्रासको वातावरण खडा गर्ने सरकारी प्रयास विवेकहीन र गलत छ।’
राप्रपाले उक्त प्रावधान अगाडि बढाउन नहुनेमा जाेड दिएकाे छ।
यस्तै, राप्रपाले किसानका लागि समयमै मलको व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेको छ।
Shares

प्रतिक्रिया