सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ।
बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) र नागरिकता विधेयकमाथि छलफल हुने बताइए पनि नागरिकता विधेयसम्बन्धी विषयमा मात्रै निर्णय भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठकमा एमसीसीबारे कुरै नउठेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
‘आजको बैठकमा एमसीसीबारे कुनै कुरा भएन’, बैठकपछि पत्रकारले सोधेको प्रस्नको जवाफ दिँदै प्रवक्ता श्रेष्ठले भने।
उनले स्थायी समितको बैठकका बारेमा यसअघि नै निर्णय भएको भन्दै त्यसबारे कुनै छलफल नभएको जानकारी दिए।
बैठकले नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ।
नेपालीसँग विवाह गरेको ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र त्यतिबेलासम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
‘नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि विदेशमा रहेको आफ्नो नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारवाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालेको छ,’ उनले बैठकपछि भने।
त्यस्ता विवाहित व्यक्तिले विहेपछि सात वर्षसम्म सामाजिक, आर्थिक, साँस्कृतिक सम्पूर्ण अधिकार हुनेगरी आवासीय परिचयपत्र प्रदान गर्ने प्रावधान कायमै रहेकोले सोहिअनुसार हुने उनले प्रष्ट्याए।
Shares
प्रतिक्रिया