राजनीति


भारतीय र चिनियाँ विदेशमन्त्रीबीच फोनवार्ता, तनाव कम गर्न दुवै पक्ष तयार, दाबी आआफ्नै

भारतीय र चिनियाँ विदेशमन्त्रीबीच फोनवार्ता, तनाव कम गर्न दुवै पक्ष तयार, दाबी आआफ्नै

नेपालखबर
असार ३, २०७७ बुधबार ११:२८,

भारतीय र चिनियाँ सैनिकबीच भिडन्त भई दुई देशबीच तनाव बढिरहेका बेला बुधबार भारत र चीनका विदेश मन्त्रीबीच फोनवार्ता भएको छ।

दुई देशका सेनाबीच लद्दाकमा भिडन्त हुँदा भारतका २० सैनिकको मृत्यु भएको भोलिपल्ट भारतका विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच फोनवार्ता भएको हो।

सो कुराकानीका क्रममा चिनियाँ विदेश मन्त्री वाङले भारतीय सैनिक सीमा नाँघेर चीनतर्फ आई भिडन्तका लागि उक्साएको दाबी गर्दै ती सैनिकलाई कारवाही गर्न माग गरेका थिए।

सो कुराकानीका क्रममा सीमा विवादलाई न्यायोचितरुपमा सुल्झाउन र जतिसक्दो छिटो तनाव कम गर्न दुवै पक्ष तयार भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दुवै पक्षले सो समस्या संवाद र वार्ता मार्फत् नै टुंगाउने बताउँदै चीनले त्यहाँ भिडन्त बढाउन नचाहेको बताएको केहि घण्टामा दुई मन्त्रीबीच टोलिफोन कुराकानी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

दुई पक्षबीचको कुराकानीमा भारतीय विदेश मन्त्रीले लद्दाखको गलवान उपत्यकास्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) मा तनाव कम गर्नेबारे दुई पक्षका सैनिक कमाण्डरबीच जारी वार्ता सकारात्मक रुपमा अघि बढिरहेका बेला चिनियाँ सैनिकले भारततर्फ संरचना निर्माण गरेपछि तनाव बढेको दाबी गरेको छ।

त्यसले गर्दा चिनियाँ पक्षले सो स्थानको यथाअवस्था कायम राख्ने भनी दुई पक्षबीच भएका सबै सहमतिविपरित भएको भारतको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ।
भारतले त्यहाँको स्थितिका पुनमूल्यांकन गरी सुधारात्मक कदम चाल्नुपर्ने बताएको छ।

अन्तमा, दुवै पक्ष त्यहाँ तनाव चर्किने गरि कुनै कदम नचाल्ने र द्विपक्षीय सहमतिअनुसार शान्ति कायम राख्न सहमति भएको पनि भारतले जनाएको छ।

उता चिनियाँ पक्षले भने भारतीय सेनाले सीमा पार गरेर चीनतर्फ आएका कारण भिडन्त भएको दाबी गरेको छ।

चीनले त्यसबारे भारतसँग कडा बिरोध जनाइसकेको बताएको छ।

‘हामी भारतीय पक्षसँग यसबारे विस्तृत छानविन गरी यो घट्ना गराउन जिम्मेवारहरुलाई कारवाही गर्न र यस्ता उत्तेजनात्मक कदमहरु तुरुन्त रोक्न आग्रह गर्छौं,’ चीनको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad