राजनीति


शनिबार पारित संविधान संशोधन विधेयक राष्ट्रिय सभामा पेश गरियाे, कार्यान्वयनमा आउन पुरा गर्नुपर्नेछ यी १२ प्रक्रिया

शनिबार पारित संविधान संशोधन विधेयक राष्ट्रिय सभामा पेश गरियाे, कार्यान्वयनमा आउन पुरा गर्नुपर्नेछ यी १२ प्रक्रिया

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ४:९,

प्रतिनिधि सभाबाट शनिबार सर्वसम्मत पारित गरिएको संविधान संशोधन कार्यान्वयनमा आउन थप केहि प्रक्रिया पुरा गर्नुपर्नेछ।

संविधानको अनुसूचिमा रहेको निशान छापमा अंकित नेपालको नक्सालाई परिमार्जित नक्साअनुसार परिवर्तन गर्न संविधान संशोधन विधेयक शनिबार सर्वसम्मत पारित भएको थियो।

आज (आइतबार) ११ बजे बसेकाे राष्ट्रिय सभाको पहिलो बैठकमा सो सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोश्रो संशोधन) विधेयक, २०७७’ लाई सभा समक्ष पेश गरेका छन्।

आइतबारकै दोस्रो बैठकमा सैद्धान्तिक छलफल हुनेछ।

त्यसपछि त्यसमाथि संशोधनका लागि ७२ घण्टाको समय दिइनेछ।

‘तीन गते अपरान्ह सो समय पुरा भएपछि सोहि दिन बस्ने बैठकमा छलफल गरी पारित गर्ने कार्यक्रम छ,’ सचिव फुयालले नेपालखबरसँग भने।

५९ सदस्यीय राष्ट्रिय सभामा हाल कायम रहेको ५८ सदस्यमध्ये राष्ट्रिय सभा अध्यक्षबाहेक ५७ जना मतदाता छन्।

तीमध्ये दुईतिहाई मतले सो बिधेयक पारित हुनुपर्नेछ।

सो दिन पारित भएको सन्देश राष्ट्रिय सभा सचिव फुयालले तल्लो सदन प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलाई पठाउनेछन्।

माथिल्लो सदनबाट प्राप्त सो सन्देश प्रतिनिधि सभाका सचिव योगीले सो सदनमा पढेर सुनाउनेछन्।

दुवै सदनबाट पारित भएकोबारे प्रतिनिधि सभामा समेत जानकारी गराएपछि सभामुख अग्नि सापकोटाले सो बिधेयक प्रमाणित गर्नेछन्। त्यसपछि सो विधेयक राष्ट्रपति कार्यालय पठाइनेछ।

राष्ट्रपतिबाट पनि स्वीकृत भई पठाएको पत्रलाई बिधेयक उत्पति भएको सदनमा पढेर सुनाइनेछ। यो विधेयक प्रतिनिधि सभाबाट उत्पति भएको हुँदा राष्ट्रपतिबाट प्राप्त पत्र प्रतिनिधि सभामै पढेर सुनाइनेछ।

संसद अधिवेशन बीचमा अन्त्य भएको अवस्था भएमा सूचना टाँस गरी सो जानकारी गराइनेछ।

त्यसपछि संशाेधित विधेयक राजपत्रमा समेत प्रकाशित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ।

‘अहिलेसम्मको योजनाअनुसार यो सबै प्रक्रियाहरु असार ४ गतेसम्ममा सम्पन्न गर्ने तयारी छ,’ सचिव फुयालले भने, ‘सोहिअनुसार सरकार लगायत सबै पक्षसँग परामर्श भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad