अमेरिका र चीनबीच अमेरिकी राज्य हवाइमा उच्चस्तरीय वार्ता हुने भएको छ।
कोभिड–१९ र ताइवानको विषयमा तनाव बढिरहेका बेला चीन र अमेरिकाका उच्च कुटनीज्ञबीच वार्ता हुन लागेको हो।
हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टका अनुसार चिनियाँ पक्षबाट स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य याङ जेइची वार्तामा सहभागी हुँदा अमेरिकाको तर्फबाट अमेरिकी विदेशमन्त्री माइक पेम्पियो हुने अपेक्षा गरिएको छ।
वार्ताको मिति हालसम्म टुंगो लाग्न सकेको छैन। अमेरिकी पोलिटिको पत्रिकाका अनुसार शनिबार पेम्पियोले हवाइ राज्यमा भ्रमण गर्न लागेका छन्।
हवाइमा पेम्पियोले चिनियाँ सरकारी अधिकारी भेट्ने तय भएको भएपनि पोलिटिकोमा उनले कसलाई भेट्दै छन् उल्लेख गरिएको छैन।
अमेरिका र चीनबीच सन् २०१८ यता व्यापार युद्ध जारी छ। साथै हालै चीन र अमेरिकाबीच कोभिड–१९, ताइवान, हङकङ, जोर्ज फ्लोएड मृत्यु प्रकरणको विषयमा विवाद बढेको छ।
विवादबीच हुन लागेको यो वार्तालाई अन्तर्राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको छ। यसअघि जनवरी १५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ उपप्रधानमन्त्री लु हिले व्यापार युद्धलाई कम गर्ने हिसाबले फेज वान ट्रेड डिलमा हस्ताक्षर गरेका थिए।
फेब्रुअरी र मार्चमा पनि चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच तनाव कम गर्नका लागि टेलिफोन वार्ता भएको थियो।
अमेरिकाले कोरोना भाइरसको प्रभावबारे चीनले सुरुवातमै जानकारी नदिएका कारण यसको प्रभाव अमेरिकासँगै विश्वभर परेको आरोप लगाएको छ। चीनले आफूले चाँडै सूचना दिएपनि अमेरिकाले वेवास्ता गरेको प्रतिक्रिया दिँदै आएको छ।
चीनले हङकङका लागि प्रस्ताव गरेको सुरक्षा कानुनको पनि अमेरिकाले विरोध गरेको थियो। चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो। त्यसपछि अमेरिकाले हङकङमा आर्थिक लगानी नगर्ने बताएको छ।
चीनले ताइवान आफ्नो आन्तरिक मामिला भएको बताउँदै त्यस विषयमा नबोल्न अमेरिकालाई चेतावनी दिइरहँदा ताइवानले आफू स्वतन्त्र मूलुक भएको र चीनले प्रस्ताव गरेको ‘एक देश दुई प्रणाली’ नमान्ने बताइरहेको छ।
चीनले शक्ति प्रयोग गरेरै ताइवान आफ्नो बनाउने बताइरहँदा अमेरिकाले चीनको विरोध गरेको छ।

प्रतिक्रिया