राजनीति


स्थानीय सरकारको भूमिका बढाउन विश्व स्वास्थ्य संगठनको सुझाव

स्थानीय सरकारको भूमिका बढाउन विश्व स्वास्थ्य संगठनको सुझाव

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार ८:३९,

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डाक्टर जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन्।

डाक्टर भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा छिट्टै नै कोरोना संक्रमणको जोखिम घटाउन सकिने समेत बताए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारका पदाधिकारीका लागि गरेको अनलाइन प्रशिक्षण कार्यक्रममा संघ र प्रदेशको तुलनामा स्थानीय सरकारहरुले कोरोना केसको पहिचान र व्यवस्थित क्वारेन्टिन बनाउने विषयमा महत्वपुर्ण भूमिका खेल्न सक्ने बताएका हुन्।

आफ्नो क्षेत्रका प्रत्येक व्यक्तिलाई व्यक्तिगत स्वास्थ्य हेरचाह र सचेतना दिने विषयमा पनि उनीहरुको भुमिकाले उल्लेख्य सहयोग पुर्याउने उनले बताए।

उनले भने, ‘नेपालको कोरोना केही बाहेक समुदायमा फैलिएको अवस्था छैन। समुदायमा जान नदिन महत्वपुर्ण भूमिका स्थानीय सरकारका जनप्रतिनिधिको बढी हुन्छ। अहिले तत्कालको लागि नेपाल बाहिरबाट आउने नेपालीहरुलाई क्वारेन्टीनमा राख्ने र स्वास्थ्य परामर्श दिनु नै मुख्य रहेको छ। सानो सानो कामका लागि पनि स्थानीय सरकारले परिवार भित्र पुगेर काम गर्न सक्ने भएकाले उनीहरुको भूमिका ठूलो हुन्छ। त्यसका लागि समुदायसंगको सम्बन्ध गाढा बनाउनुपर्ने हुन्छ। साथै समुदायको स्वास्थ्य सेवा वाहेक अत्यावश्यक सेवामा समेत महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।’

कोरोना संक्रमण नियन्त्रणमा गरिएको अन्तर्राष्ट्रिय अभ्यासको बारेमा जानकारी गराउँदै उनले सामाजिक र भौतिक दूरी कायम राख्दै मास्क, स्यानिटाइजर प्रयोग गर्नुको साथै साबुनपानीले हात धुनुपर्ने लगायतका स्वास्थ्य सचेतना फैलाउनुपर्नेमा जोड दिए। उनले नेपालमा समुदायमा गरिने परीक्षण किट अभाव देखिएको, नेपालमा कुल जनसंख्याको १ प्रतिशतमा मात्रै परीक्षण भएको र प्रति हजार शुन्य दशमलब १५ मा मात्रै संक्रमण भएको बताए।

सिन्चुवान विश्वविद्यालयका प्रोफेसर डाक्टर टियान विङवीले चीनले जोखिम न्यूनीकरणका लागि गरेको राम्रा अभ्यास बारे जानकारी गराएका थिए। उनले संक्रमण न्यूनीकरण तथा रोकथामका लागि जोखिम नक्सांकन गरी उच्च र निम्न जोखिमको वर्गिकरण गरी परीक्षण बढाउनुको साथै समुदायमा संक्रमण फैलन नदिने तर्फ कार्यक्रमहरु केन्द्रित गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा स्थानीय सरकारका पदाधिकारीहरुले कोभिड नियन्त्रणका लागि संघ र प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामाग्री तथा बजेट व्यवस्था नगर्दा संक्रमण नियन्त्रणका लागि गर्नुपर्ने तयारीहरु हुन नसकेको गुनासो गरेका थिए।

कार्यक्रममा संकटमा जनस्वास्थ्यका चुनौति र स्थानीय सरकारका प्राथमिकता बारे प्रकाश पारेका थिए। कार्यक्रममा स्थानीय सरकारका पदाधिकारी तथा त्यहा कार्यरत कर्मचारीहरुले जुम मार्फत सहभागीता जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad