नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले सबै तहका कमिटी नेता, कार्यकर्ता, समर्थकलाई बाढीपीडितको राहत तथा उद्धारमा जुट्न आह्वान गरेको छ।
केही दिनदेखि जारी अविरल वर्षाले गर्दा मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट धनजनको ठूलो क्षति भइरहेको अवस्थामा संगठनले यस्तो आह्वान गरेको हो।
प्राकृतिक विपत्तिमा परेर आफ्नो जीवन गुमाउने सवैप्रति अखिलले हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
विपदको यस घडिमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई कुनै कसर बाँकी नराखीकन एकीकृत रुपमा प्रभावकारी ढंगले राहत तथा उद्धार कार्यमा जुट्न अखिलले अपिल गरेको छ। यस सन्दर्भमा तत्काल राहत तथा उद्धारमा जुट्दै कोशी ब्यारेजका ५६ वटै ढोका खोल्ने लगायतका सरकारका कदम स्वागतयोग्य रहेको उसले बताएको छ।
'यसैगरी तराईको सीमा क्षेत्रका कयौं ठाउँमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएका बाँधका कारण पनि वर्षेनी कयौं भुभाग डुवानमा पर्ने गरेको तथ्यलाई दृष्टिगत गरी कुटनैतिक पहलकदमी मार्फत समस्याको स्थायी समाधान खोज्न समेत सरकार समक्ष माग गर्दछाैं', संयोजक ऐनमहरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यस प्रकोपबाट ज्यान गुमाउने परिवारलाई रु ५ लाख, घरवारविहीन हुने परिवारलाई रु १ लाख र घाइतेहरुको निशुल्क उपचारको प्रवन्ध गर्न सरकार समक्ष जोडदार माग गर्दछौं।'

प्रतिक्रिया