राजनीति


महाकाली सन्धिमा प्रधानमन्त्री ओली र मैले गल्ति गरेका छौं, त्यो स्वीकार्नुस्, सच्याउनुहोस्ः प्रदीप गिरी (भिडियाे)

महाकाली सन्धिमा प्रधानमन्त्री ओली र मैले गल्ति गरेका छौं, त्यो स्वीकार्नुस्, सच्याउनुहोस्ः प्रदीप गिरी (भिडियाे)

नेपालखबर
जेठ २७, २०७७ मंगलबार १३:१७,

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले महाकाली सन्धि हुँदा हालका प्रधानमन्त्री केपी शर्मा ओली र आफूले त्यतिबेलाकाे संसदमा त्यसका पक्षमा समर्थन गर्दा गल्ति गरेको बताएका छन्।

गिरीले मंगलबार संसदमा बोल्दै सो कुरा बताएका हुन्।

उनले संसदमा राखेको धारणा उनकै शब्दमाः

हाम्रो पार्टी नेपाली कांग्रेसले केन्द्रीय कमिटीबाट गम्भीरताका साथ यो नक्सासम्बन्धी संशाेधन प्रस्तावको समर्थनमा नक्सा परिमार्जन गर्ने विषयमा एक मतले समर्थन गरिसकेको छ।

त्यसको प्रतिनिधिमुलक व्याख्या हाम्रो प्रमुख सचेतक र सचेतकबाट यहाँ भइसकेको छ।

यति बोलेर यसबारे सैद्धान्तिक छलफल सकिँदैन।

कुनै समय वर्तमान प्रधानमन्त्री ओली र म अर्थात् प्रदीप गिरी संसदको यस्तै मञ्चबाट एक सुर भएर महाकाली सन्धिका पक्षमा बोलेका थियौं। त्यतिबेला महाकालीको सीमांकन ठीकसँग भएको छैन है भनेर माधव नेपाल, सीपी मैनालीको नेतृत्वमा भनिएकाे थियाे।

त्यस सवालमा तत्कालिन नेकपा एमाले टुट्यो। त्यतिबेला (हालका) प्रधानमन्त्री ओलीले र मैले पनि सायद गल्ति गरेका थियौं। त्यो कुरा प्रधानमन्त्रीले स्वीकार गर्नुपर्छ।

दोश्रो कुरा, यो कुटनैतिक कुरा हो भनिराखेर सरकार थाकेको छैन।

कुटनैतिक प्रश्न भनेको के हो?

पर्याप्त गृहकार्य नगरिएको कुटनीति कहिले पनि ठेगानमा पुग्दैन।

जमिन हाम्रो हो भन्ने बहस गर्न पर्दैन। 'तेरी आमा तेरो हो' भनेर प्रश्न गरेजस्तै हो।

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भन्ने मुलुकका हामी हौं।

'माटो पकडेर निर्णय गर्नु' भन्ने वीपी कोइरालाको पार्टीका हामी सदस्य हौं।

तर त्यो जमिन हासिल कसरी गर्ने?

प्रधानमन्त्री उखान टुक्काका महारथि हुनुहुन्छ तर उहाँलाई एउटा उखान याद रहिन्छ। स्यालको शिकार गर्न जाँदा बाघको तयारी गर्नुपर्छ।

यति सजिलो छ?

कुनै गृहकार्य छैन। अरु त अरु प्रतिपक्षका नेतासँग सल्लाह गर्न सक्नुभएको छैन।

संशोधन मागिरहेका मधेसका नेताहरुसँग कुरा गर्नुभएको छैन।

अनि उहाँले दिल्लीसँग कुरा गर्न भ्याउनुभयो होला? पेकिङ (वेइजिङ) सँग कुरा गर्न भ्याउनु भयो होला?

बिना गृहनीति, बिना गृहकार्य, कदाचित आफ्नो पार्टीलाई समेत विश्वास नलिईकन गरिएको एउटा कार्य हो। तर, हामी समर्थनमा छौं। हामीले समर्थन गरेका छौं किनभने हामी नेपाल आमाका सन्तान हौं।

अब, कस्तो वातावरण छ? के भइरहेको छ? कति पीडाका साथ साथीहरु बोलिरहेका छन्।

मेरो शुभकामना छ, वर्तमान प्रधानमन्त्रीलाई। आफ्ना पालामा हामीले गरेका गल्तिलाई सँच्याउनुस्। तपाईंकै कार्यकालमा सच्याउँनुस्।

म स्याल र बाघको उदाहरण दिँदा लज्जित छु। प्रतिकात्मक अर्थ हो। आवश्यक कुटनीति गरेर, यसलाई पपुलिष्ट विषय नबनाएर साँच्चै नै त्यहाँको भूभागलाई भोग गर्न लगाएर आफ्नो नाम इतिहासमा अमर गर्नुहोस्।

त्यसका लागि दलित, जनजाति, मधेस र यहाँका वेरोजगारी माथि पनि विजय प्राप्त गर्नुस्।

कुनैपनि विदेश नीति गृहनीतिको सफलताका आधारमा मात्र सफल हुन्छ। त्यसमा तपाईको सरकार कमजोर भएको छ।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad