यही जेठ २५ गतेभित्र कर तिर्न राजश्व विभागले दिएको निर्देशन नमान्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकलाई आह्वान गरेको छ।
चैत ११ गतेदेखि देशभर लकडाउन लागू भइरहेको भए पनि विभागले मंगलबार सूचना प्रकाशन गरी सबै खालका कर यही जेठ २५ गतेभित्र तिर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ।
यही निर्देशन अवज्ञा गर्न कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत नागरिकलाई आह्वान गरेका हुन्।
प्रवक्ता शर्माले ट्विटमा लेखेका छन्, ‘सांसद विकास कोष खारेज गर्न साहस नराख्ने, अनि ठप्प व्यवसायलाई कर ताकेता! जेठ २५ भित्र कर तिर्न नसक्ने भद्र अवज्ञाको अर्को विकल्प छैन।’
उनले अगाडि लेखेका छन्, ‘गलैंचा, जिमखाना र यो ताकेता! साेध्न चाहन्छु- कसैको व्यक्तिगत सनकमा देश चल्दैछ कि यही हो- कम्युनिस्ट समाजवादको आधारशिला!’
सांसद बिकास कोष खारेज गर्न साहस नराख्ने अनि
ठप्प ब्यवसायलाई कर ताकेता ? @hello_sarkar
जेठ २५ भित्र कर तिर्न नसक्ने #भद्र_अवज्ञा को अर्को विकल्प छैन !
गलैंचा,जिमखाना र यो ताकेता l शोध्न चाहन्छु कसैको ब्यक्तिगत सनकमा देश चल्दैछ कि यहि हो @PM_Nepal कम्युनिस्ट समाजवादको आधारशिला ?? pic.twitter.com/rU7RSK5oaO
राजश्व विभागले गत फागुन र चैतको मासिक कर विवरण, माघ र फागुनको द्विमासिक र मंसिर–फागुनको चौमासिक कर विवरण तथा त्यसबमाेजिम कर दाखिला गर्ने निर्देशन दिएको छ। यस्तै गत फागुन र चैतकाे बुझाउनपर्ने विवरण तथा त्यसबमोजिम अन्तःशुल्क दाखिला गर्न सूचनामा भनिएकाे छ।
सूचनाअनुसार फागुन र चैतमा बुझाउनपर्ने अग्रम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा त्यसबमोजिमको कर दाखिल गर्नुपर्नेछ। यसैगरी आयकर ऐनअनुसार गत चैतमा बुझाउनपर्ने आर्थिक वर्ष २०७६-०७७ को संशोधन जेठ मसान्तसम्म बुझाउनु पर्नेछ।
आर्थिक ऐनबमोजिम गत फागुन र चैतका शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा दस्तुर दाखिला गर्न विभागले निर्देशन दिएकाे छ।

प्रतिक्रिया