राजनीति


क्वारेन्टिनको विजोग अवस्थाबारे सांसदहरुले उठाए आवाज

क्वारेन्टिनको विजोग अवस्थाबारे सांसदहरुले उठाए आवाज

नेपालखबर
जेठ १९, २०७७ सोमबार ६:१३,

सांसदहरुले देशका विभिन्न ठाउँमा निर्माण भएका क्वारेन्टिन अव्यवस्थित रहेको भन्दै तत्काल क्वारेन्टिनलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बनाउन माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले क्वारेन्टिनलाई व्यवस्थित नगर्ने हो भने संक्रमणले जोखिम निम्त्याउने सांसदहरुले चेतावनी दिए।

सांसद उमाकान्त चौधरीले तराईमा रहेका सबै क्वारेन्टिन विश्व स्वास्थ्य संगठनको मापदण्ड विरुद्ध रहेको बताए।

उनले केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टिन बनाउन पनि माग गरे। ‘अव्यवस्थित र मापदण्ड विपरीत बनाइएका कारण क्वारेन्टिन नै कोरोना संक्रमण उत्पादन गर्ने थलोको रुपमा देखिन थालेको छ। क्वारेन्टिनलाई व्यवस्थित बनाउन र पीसीआर परीक्षणको दायरा तत्काल बढाउनु अहिलेको आवश्यकता हो, राहत उद्धार र परीक्षणलाई ध्यान नदिने हो भने नेपालमा कोरोना संक्रमणको साथै रोग र भोकले पीडित हुनेको संख्या बढ्छ, सरकारले ध्यान देओस्’ सांसद चौधरीले भने।

याे पनि: क्वारेन्टिनमै हुनथाल्यो दैनन्दिन मृत्यु, आधारभूत सुविधा पनि नहुँदा धेरै जाेखिममा

सांसद अमृतादेवी अग्रहरीले क्वारेन्टिन व्यवस्थित नभएको भन्दै देशको सरकार अदुरदर्शी भएका कारण जनताले कष्ट पाइरहेको बताइन्।

उनले कपिलवस्तु, वीरगञ्ज, सर्लाही, रौतहटमा कोरोना महामारी दिनप्रतिदिन बढ्दै गएको बताउँदै उच्च जोखिममा रहेका जिल्लामा देशको सरकार मौन बसेको आरोप लगाइन।

‘कपिलवस्तुमा आइसोलेसन बेड नै छैन, न खानाको व्यवस्था, न डाक्टरको व्यवस्था, न ट्वाइलेट बाथरुमको व्यवस्था छ, एक ट्वाईलेट सय जनाले प्रयोग गरिरहेका छन्, यस्तो अवस्थामा सरकारको उद्देश्य के हो ? नियत के हो?’ उनले प्रश्न गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad