ग्लोबल


३७ देशमा गरिएको प्युको नयाँ सर्भे– विश्वमा अमेरिकाभन्दा चीनको समर्थन ज्यादा, ट्रम्पभन्दा सी भरपर्दा

३७ देशमा गरिएको प्युको नयाँ सर्भे– विश्वमा अमेरिकाभन्दा चीनको समर्थन ज्यादा, ट्रम्पभन्दा सी भरपर्दा

नेपालखबर
साउन ३, २०८३ आइतबार १७:४२,

दुई महाशक्ति राष्ट्रहरू अमेरिका र चीनलाई हेर्ने दृष्टिकोणमा विश्वका मानिसहरूमा ठूलो परिवर्तन देखा परेको छ। अमेरिकाको वासिङ्टनमा मुख्यालय रहेको प्यु रिसर्च सेन्टरको पछिल्लो अध्ययनले अमेरिकाभन्दा चीनलाई सकारात्मक नजरले हेर्नेहरूको संख्या ज्यादा देखिएको हो। 

त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई विश्वास गर्ने ज्यादा छन्। सीप्रतिको नजर केही देशमा अझै नकारात्मक भए पनि अधिकांशमा विश्व मामिलामा ट्रम्पले भन्दा सीले राम्रो काम गर्ने विश्वास देखिन्छ।

केही वर्षअघि मात्र कोभिड महामारीको बेला संसारभर चीनप्रतिको दृष्टिकोण ऐतिहासिक रूपमै नकारात्मक थियो। तर, त्यसयताको केही वर्षमै चीनको पहल र विश्वभर अमेरिकी हस्तक्षेपका कारण मानिसहरूको दृष्टिकोणमा यति ठूलो उलटफेर देखिएको हो। र, गत दुई दशकमा पहिलो पटक चीनले यस्तो सर्वेक्षणमा अमेरिकालाई पछि पारेको हो। 

प्यु रिसर्च सेन्टरले ३७ देशका ४५ हजार मानिसमा यो सर्वेक्षण गरेको थियो। गत फेब्रुअरी ८ देखि मे १३ सम्म गरिएको यो सर्वेक्षणको नतिजा गत बुधबार सार्वजनिक गरिएको थियो।

अध्ययन अनुसार ३७ मध्ये २५ मुलुकमा अमेरिकाभन्दा चीनको छवि राम्रो छ। अर्थात्, धेरै मानिसले चीनलाई सकारात्मक रूपमा हेर्छन्। त्यस्तै, २२ मुलुकमा ट्रम्पलाई भन्दा सीलाई ज्यादा मानिसले विश्वास गर्छन्।

३७ मुलुकमध्ये औसतमा ५१ प्रतिशतले चीनप्रति सकारात्मक दृष्टिकोण रहेको बताएका छन्। ३९ प्रतिशतले नकारात्मक।

सामान्यतः अफ्रिका र ल्याटिन अमेरिकामा चीनप्रतिको नजर ज्यादा सकारात्मक छ। युरोप र उत्तर अमेरिकामा भने केही हदसम्म नकारात्मक।

तर चीनप्रतिको सबैभन्दा सकारात्मक र नकारात्मक धारणा भने एसिया प्रशान्त क्षेत्रमा पाइन्छ। १० जनामध्ये ९ जना पाकिस्तानी चीनको समर्थन गर्छन्। तर, मात्र ११ प्रतिशत जापानी चीनलाई सकारात्मक नजरले हेर्छन्।

त्यस्तै, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाजस्ता धनी मुलुकहरूमा चीनप्रति नकारात्मक धारणा पाइन्छ। सिंगापुर भने यसको अपवाद रहेको छ। जो चीनप्रति सकारात्मक छ। 

कम प्रतिव्यक्ति आय भएका मुलुकमा चीनप्रति ज्यादा विश्वास देखिन्छ। त्यस्तै, पाकाभन्दा कम उमेरका मानिसहरूमा चीनप्रतिको धारणा सकारात्मक छ। केही मुलुकमा आफूलाई वामपन्थी भन्नेहरूमा चीनप्रति सकारात्मक दृष्टिकोण ज्यादा देखिन्छ।

केही मुलुकहरूमा चीनप्रतिको धारणा ऐतिहासिक रूपमै सबैभन्दा सकारात्मक बनेको छ। उदाहरणका लागि ५१ प्रतिशत इटालियनहरू चीनलाई मन पराउँछन्। त्यो गत वर्ष ४५ प्रतिशतमा थियो भने २०२२ मा ३१ प्रतिशत। त्यस्तै, ५४ प्रतिशत स्पेनीहरू चीनप्रति सकारात्मक छन्, जुन गत वर्षभन्दा १७ अंकले ज्यादा हो। 

त्यस्तै, कोलम्बिया, ग्रिस, हंगेरी, इन्डोनेसिया, मलेसिया, मेक्सिको, पेरु, सिंगापुर, श्रीलंका र टर्कीमा पनि चीनप्रति उच्च सकारात्मकता पाइन्छ।

तर, एकाध मुलुकमा भने चीनप्रतिको नकारात्मकता बढेको छ। एउटा उदाहरण इजरायल हो। मात्र १९ प्रतिशत इजरायली चीनप्रति सकारात्मक छन्। गत वर्ष यो आँकडा ३३ प्रतिशत थियो भने २०१९ मा ६६ प्रतिशत। थाइल्यान्ड र दक्षिण अफ्रिकामा पनि चीनको समर्थन घटेको छ।

अमेरिकाप्रतिको नकारात्मक धारणा यति धेरै कहिल्यै थिएन। २००८ मा जर्ज डब्ल्यू बुस प्रशासनको अन्त्य र २०१७ मा ट्रम्पको पहिलो कार्यकालको सुरुवातमा पनि अमेरिकाप्रतिको नकारात्मक दृष्टिकोण बढेको थियो। तर, त्यसबेला चीनप्रतिको धारणा यतिधेरै सकारात्मक भएको थिएन।

यसपालि सर्वेक्षण गरिएकामध्ये ६ वटा मुलुकका नागरिकले मात्र अमेरिकालाई ज्यादा समर्थन गरेका छन्। जसमा पोल्यान्ड, फिलिपिन्स, दक्षिण कोरिया, भारत, जापान र इजरायल पर्छन्। 

२० देशमा अमेरिकाप्रतिको धारणा खस्केको पाइन्छ।

निष्कर्षका रूपमा चीनप्रतिको जनसमर्थन बढिरहेको देख्न सकिन्छ। त्यस्तै, धनी युरोपेली र पूर्वी एसियाली मुलुकमा भन्दा ल्याटिन अमेरिका, अफ्रिका र अरु एसियाली मुलुकमा चीनप्रतिको धारणा ज्यादा सकारात्मक छ। 

किन बदलियो दृष्टिकोण
यसलाई चीनले आफ्नो छवि सुधार्ने प्रयासको नतिजाका रूपमा पनि लिइएको छ। किनभने चीनले विश्वभर आफ्नो ‘सफ्ट पावर’ विस्तार गरिरहेको छ। अफ्रिका, दक्षिण अमेरिका लगायतका क्षेत्रमा उसले आर्थिक र सांस्कृतिक प्रभाव बढाउने कार्यक्रमहरू लगेको छ। ब्राजिल, पेरु लगायतका मुलुकमा आर्थिक र सुरक्षा सम्बन्ध सुदृढ गरेको छ भने अफ्रिकालाई शून्य भन्सार नीति लागू गरेको छ।

तर, यो परिवर्तन मुख्यगरी अमेरिकाप्रति बढ्दो नकारात्मक धारणाका कारण देखिएको प्युको रिपोर्टमा उल्लेख छ। अमेरिकाले ट्रम्पको नेतृत्वमा आक्रामक विदेश नीति अपनाएको छ। ट्रम्पले सधैँ आफ्नो साथ दिइरहेको मुलुकहरूमा समेत भारी भन्सार महसुल लगाए। वैदेशिक सहायतामा पनि ठूलो कटौती गरे भने अन्य मुलुकका नेताहरूविरुद्ध कटु अभिव्यक्ति पनि दिए।

त्यति मात्र होइन, युद्धको विरोध गर्दै आएको ट्रम्प पछिल्लो समय इजरायलको इसारामा इरान युद्धमा होमिएका छन्। जुन दीर्घकालीन युद्धमा बदलिने लक्षणहरू देखिन थालेका छन्। यसले विश्वबजारमा ठूलो क्षति पुगेको छ।

त्यस्तै, उनको ग्रिनल्यान्ड कब्जा गर्ने अभिव्यक्तिले युरोपमा ट्रम्पको समर्थन घटाएको छ भने निकोलस मदुरोको अपहरणले पनि उनीप्रति नकारात्मक धारणा बढाएको छ।

‘यो निष्कर्षले ट्रम्पको नेतृत्वमा अमेरिकी सफ्टपावर पतन हुँदै गएको पुष्टि हुन्छ। खासगरी उनको प्रशासनले बलप्रयोग र आर्थिक दबाबमार्फत यो काम गरिरहेको छ,’ लोवी इन्स्टिच्युटकी सुसाना प्याटन भन्छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad