ad ad

राजनीति


पार्टी स्थापना दिवसमा कमल थापाको प्रतिवद्धता : अब राप्रपा कहिल्यै फुट्दैन

पार्टी स्थापना दिवसमा कमल थापाको प्रतिवद्धता : अब राप्रपा कहिल्यै फुट्दैन

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ५:४,

राष्ट्रिय प्रजातन्त्र पार्टी गठन भएको ३० वर्ष पूरा भएको छ। पार्टीको ३१ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष कमल थापाले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी राप्रपालाई माया गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा आभार व्यक्त गरेका छन्।

‘पार्टीका संस्थापक नेताहरु तथा पार्टीको आदर्शप्रति प्रतिबद्ध रहेकै कारण शहादत प्राप्त गरेका महान शहीदहरुप्रति हार्दिक अभिनन्दन तथा श्रद्धाञ्जली अर्पण गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘अनेकौँ उतारचढावको बावजुद कत्तिपनि विचलित नभई पार्टीलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान पुर्याउन क्रियाशील पार्टीका साथीहरुमा हार्दिक बधाई तथा शुभकामना दिन्छु।’

स्थापनाकालदेखि पटकपटक टुटफुटको श्रृंखलाबाट गुज्रेको राप्रपा अब कहिल्यै नफुट्ने बाचाबन्धनसहित पार्टी एकताबद्ध भएको भन्दै विज्ञपितमा राप्रपा बलियो वैकल्पिक शक्ति बन्ने दाबी गरिएको छ।

‘देशलाई अहिले एउटा बलियो वैकल्पिक शक्तिको आबश्यकता छ। यस्तो शक्ति जो राष्ट्रवादी होस्, जसले मन वचन र कर्मले प्रजातन्त्रमा विश्वास गरोस्। नेपाली जनताको चाहना अनुरुप सुशासन र समृद्धि प्रदान गर्न सकोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘कतिपयलाई तितो लाग्न सक्छ, तर यस्तो विकल्प बन्न सक्ने योग्यता र क्षमता राप्रपामा मात्र छ।’

थापाले राप्रपामा रहेको फरक विचार, देशव्यापि संगठन र अग्निपरिक्षाबाट उत्तिर्ण नेतृत्वको कारण राप्रपा देशले चाहेको वैकल्पिक शक्ति बन्न सक्ने दाबी पनि गरेका छन्।

 उनले आगामि दिनमा सक्रिय रुपले संगठन निर्माण र जनताको बिश्वास जित्ने काममा लाग्न पार्टीका सम्पूर्ण नेता कार्यकर्तामा आह्वानसमेत गरेका छन्। ‘राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्रको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माण गर्ने अभिभारा अब हाम्रो हो,’ थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘विगतमा हामीबाट केही गंभीर त्रुटि र कमजोरिहरु भएका छन्। हामीले त्यसबाट पाठ सिकेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अब गल्ति दोहरिने छैनन्। आगामी दिनमा राप्रपालाई विश्वास गर्न, भरोसा गर्न र माया गर्न म नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा अपिल समेत गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .