कोशी


तमोरको उर्लँदो भेलले जब जलिरहेको चिता बगायो

तमोरको उर्लँदो भेलले जब जलिरहेको चिता बगायो

नेपालखबर
असार ३०, २०८३ मंगलबार १४:२०, विराटनगर

जीवनको अन्तिम यात्रा, जहाँ आफन्त गुमाउनुको असीम पीडा र आँसु लुकाउँदै मानिसहरू घाट पुग्छन्।

तर धनकुटाको प्रसिद्ध मूल घाटमा सोमबार एउटा यस्तो अकल्पनीय दृश्य देखियो, जसले मलामीहरूलाई शोकमा मात्र डुबाएन, भयभीत र स्तब्धसमेत बनायो।

तमोर नदीको उर्लँदो भेलले जलिरहेको चितालाई आफ्नो बहावसँगै बगाएर लैजाँदा घाट किनारमा कोलाहल र भागदौड मच्चियो।

मृत्युपछिको पवित्र अन्तिम संस्कारसमेत प्रकृतिको कठोर रूपका अगाडि सुरक्षित रहन सकेन। सोमबार दिउँसोदेखि भाइरल भएको यो भिडियोको बारेमा अहिले चौतर्फी चर्चा भएको छ।

धनकुटा नगरपालिका-६, आत्माराका ४३ वर्षीय गौरी रोकाको असामयिक निधनपछि परिवार र आफन्तजनले दाहसंस्कारका लागि सोमबार दिउँसो मूलघाट पुर्‍याएका थिए। नदी किनारमा चिता तयार पारियो र धार्मिक विधिअनुसार दागबत्ती दिइयो।

प्रत्यक्षदर्शी एवम् त्रिवेणी माविका प्रधानाध्यापक दीपक पोख्रेलका अनुसार चिता करिब ७५ प्रतिशत जलिसकेको अवस्थामा थियो। सबै जना शान्त भावमा संस्कार सकिने प्रतीक्षामा थिए। तर कसैले अनुमान नगरेको अवस्थामा तमोर नदीमा बाढी एकाएक बढेर आयो।

नदीमा अचानक पानीको बहाव बढेपछि रोकाको शवसहितको चिता पानीमा तैरिन थाल्यो। नदी किनारका मलामीहरू खोलाबाट निक्कै पर पुगिसकेका थिए। नदीको बिच भागमा पुग्दा पनि भेलमा तैरिरहेको चितामा आगो बलिरहेको थियो। यो भावनात्मक तर कारुणिक दृश्यले घाटमा उपस्थित सबैलाई निःशब्द बनायो। 

सोमबार मूल घाटमा रोकाको मात्र अन्तिम संस्कार भइरहेको थिएन। त्यसअघिनै धनकुटा नगरपालिका-९ की राधिका निरौलाको चिता बनाएर अन्त्येष्टि कार्य भइरहेको थियो। रोकाको चिता बगेपछि राधिकाको शव निकालेर पुनः अर्को व्यवस्था गर्ने प्रयास भइरहँदा बाढीको छाल झन्झन् उग्र बन्दै गयो।

पानीको सतह एक्कासि माथि आएपछि घाटमा रहेका मलामीहरूबिच ज्यान जोगाउन भागदौड मच्चियो। यस्तो विषम् परिस्थितिमा पनि मलामीहरूले मुस्किलले शवलाई पानीबाट निकालेर पुनः अर्को चिता बनाई अन्तिम संस्कार गरेको स्थानीयको भनाइ छ। 

प्रकृतिको यो ताण्डव यत्तिमै रोकिएन, सोही समयमा छथर जोरपाटी गाउँपालिका-२ की मृतक चन्द्रकला अधिकारीको दाहसंस्कार भइरहेको चितालाई समेत तमोरको बाढीले असर गरेको थियो।

वर्षायाम सुरु भएसँगै तमोर नदीमा आउने बाढीले हरेक वर्ष मूलघाट क्षेत्रका भौतिक संरचनाहरूमा क्षति पुर्‍याउँदै आएको छ।

वर्षाका महिनाहरूमा पानीको बहाव बढ्दा यहाँ दाहसंस्कार गर्न आउनेहरूले सधैँ सास्ती र जोखिम भोग्दै आएका छन्। तर, यस पटकको घटना विगतको भन्दा धेरै भिन्न र डरलाग्दो थियो।

विश्रान्ति घाटका महासचिव जनार्दन घिमिरेका अनुसार यसअघि छिटपुट रूपमा नदीले किनार छुने गरे पनि एकै पटक चार-चार वटा चितानै प्रभावित हुने गरी यस्तो ठूलो र अनौठो घटना पहिलो पटक भएको बताए।

‘एकाएक जलाउँदै गरेका शवहरू धमाधम बगाएपछि मलामीहरू कसरी घर फर्किने भन्नेमा हुनुहुन्थ्यो,’ उनले भने, ‘एक्कासि बाढी आएर जलाउँदै गरेको चिता बगाएको पहिलो पटक देखेको हुँ।’ 

मूलघाटमा शव बगाएपछि प्रशासनले तत्काल नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालन गरेको छ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्भावित सुरक्षालाई ध्यानमा राखेर मलामीको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको उनले बताइन्।

‘अहिले विपदको समय रहेकोले काजकिरिया गर्नेहरूले सचेत भएर त्यस्ता कर्म गर्नुपर्ने देखिएको छ,’ उनले भनिन्, ‘भेल बाढी उर्लिएर आउने हुनाले त्यस्ता कुराहरूमा ध्यान दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad