टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने तयारी गरेका छन्। पुरानो प्रविधिलाई विस्थापन गर्दै आधुनिक फोरजी सेवाको विस्तार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले दुवै कम्पनीले थ्रीजी सेवा बन्द गर्ने योजनाअघि बढाएका हुन्।
दूरसञ्चार क्षेत्रमा पुराना मोबाइल प्रविधिलाई विस्थापन गरी उच्च क्षमतायुक्त नेटवर्कमा लगानी बढाउने क्रम तीव्र छ। थ्रीजी सेवा बन्द भएपछि टेलिकम कम्पनीले टुजी र फोरजी सेवा मात्रै उपलब्ध गराउनेछन् भने आगामी दिनका लागि फाइभजीको तयारी पनि गरिरहेका छन्।
फोरजीको तुलनामा थ्रीजीले कम ब्यान्डविथ उपलब्ध गराउँछ। डेटा र भोइस सेवाको गुणस्तर पनि सीमित हुन्छ। यही कारण अन्य देशका टेलिकम सेवा प्रदायक कम्पनीहरूले पनि थ्रीजी त्यागेर फोरजी नेटवर्कमा केन्द्रित हुँदै गएका छन्।
थ्रीजी सेवा बन्द भएपछि उपलब्ध हुने स्पेक्ट्रम तथा नेटवर्क स्रोतलाई फोरजी सेवाको क्षमता विस्तार, ‘भोइस ओभर लङ टर्म इभोल्युसन’ (भोल्टे) सेवाको गुणस्तर सुधार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि उपयोग गरिने नेपाल टेलिकम तथा एनसेलको भनाइ छ। यसबाट ग्राहकले थप तीव्र गतिको इन्टरनेट, गुणस्तरीय भोइस सेवा तथा स्थिर नेटवर्क पाउने छन्।
टेलिकमको तयारी
नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले नेपालमा मात्रै नभई विश्वका अधिकांश देशमा टेलिकम सेवाप्रदायकले थ्रीजी सेवा हटाउँदै लगेको बताउँछन्। उनका अनुसार टेलिकमले आगामी आर्थिक वर्ष २०८३/८४ मा थ्रीजी सेवालाई पूर्णरुपमा हटाउने तयारीका साथ काम गरिरहेको छ। 'नेपाल टेलिकमको थ्रीजी सेवा प्रवाह गरिरहेका तीन हजारभन्दा बढी बिटिएस टावरमध्ये केही हटाउन सुरु भइसकेको छ', उनले भने, 'चितवनमा ‘क्लष्टर’ छुट्याएर यसको परीक्षण भइरहेको छ, त्यसको नतिजाका आधारमा थ्रीजी सेवा पूर्णरुपमा हटाउन सुरु हुन्छ।'
थ्रीजी सेवा हटेपछि ग्राहकहरु फोरजी सेवामा जान सक्छन्। भोइसका लागि मात्रै टुजी सेवा पर्याप्त हुन्छ। डेटा र भोइस दुवैका लागि हो भने ग्राहक फोरजीको भोल्टे सेवामा जान सक्छन्। यसले डेटा र भोइस दुवैको गुणस्तर बढाउनेछ। हाल नेपाल टेलिकमले २१०० मेगाहर्जमा थ्रीजी सेवा प्रदान गरिरहेको छ। यसका लागि ७६० वटा स्थानीय तहमा फोरजी सेवा विस्तार गरिसकेको छ। सम्पूर्ण स्थानीय तहमा फोरजी सेवा विस्तार गर्दै गुणस्तर सुधार गर्ने योजनामा काम भइरहेको प्रवक्ता लामिछानेले जानकारी दिए।
थ्रजी हटाउन एनसेल अगाडि
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले यही असार २२ गते सोमबारदेखि पाँच प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा रहेका २२० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गरिसकेको जनाएको छ। कम्पनीले यसअघि कोशी प्रदेशका केही स्थानीय तहमा थ्रीजी सेवा बन्द गरिसकेको छ।
एनसेलकी नेटवर्क प्रमुख लेना केशरी कंसाकारका अनुसार नयाँ प्रविधि अपनाउने र सेवाको गुणस्तर निरन्तर अभिवृद्धि गर्ने प्रतिबद्धताअनुरूप एनसेलले थ्रीजी बन्द गर्न लागेको हो।'हाम्रा एक करोड ४१ लाख सक्रिय ग्राहकमध्ष्ये ०.७ प्रतिशतले मात्रै थ्रीजी सेवा प्रयोग गरिरहेका छन्, हामी सन् २०२७ को पहिलो तीन महिनाभित्र थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने गरी काम गरिरहेका छौँ।'
उनका अनुसार थ्रीजी सेवा बन्द भए पनि ग्राहकहरूले टूजीका साथै फोरजी नेटवर्कमार्फत उच्च गुणस्तरको भ्वाइस सेवा उपलब्ध हुनेछ। 'थ्रीजी बन्द भएपछि सेवाका लागि प्रयोग हुँदै आएको स्पेक्ट्रम फोरजी सेवाका लागि उपयोग हुन्छ। उच्च गतिको मोबाइल डेटा तथा भोल्टेमार्फत गुणस्तरीय भोइस सेवा उपलब्ध गराउन हामीले फोरजी सेवा देशको करिब ९५ प्रतिशत जनसङ्ख्यासम्म विस्तार गरिसकेका छौँ', उनले भने। एनसेलले फाइभजीजस्ता नयाँ प्रविधिमा फड्को मार्न पनि तयारी गरिरहेछ।
नेपाल टेलिकमले नेटवर्क आधुनिकीकरण कार्यक्रमअन्तर्गत थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्ने योजना अघि बढाएको हो। कम्पनीले आर्थिक वर्ष २०८३/८४ भित्र थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने लक्ष्य राखेको छ। थ्रीजी नेटवर्कलाई क्रमशः फोरजीमा रूपान्तरण गरिने भएकाले पुराना थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिममा परिवर्तन गर्न कम्पनीले आग्रह गरेको छ। नेपाल टेलिकमका अनुसार थ्रीजी बन्द भएपछि त्यसका लागि प्रयोग हुँदै आएको फ्रिक्वेन्सी र नेटवर्क स्रोत फोरजी सेवाको क्षमता विस्तार गरिनेछ।
Shares

प्रतिक्रिया