ad ad

राजनीति


मैलेमात्रै गरेर सम्भव छैन, कृषि क्षेत्र सुधारका लागि प्रधानमन्त्री पनि प्रतिवद्ध हुनुपर्छ : मन्त्री भुसाल

मैलेमात्रै गरेर सम्भव छैन, कृषि क्षेत्र सुधारका लागि प्रधानमन्त्री पनि प्रतिवद्ध हुनुपर्छ : मन्त्री भुसाल

नेपालखबर
जेठ १३, २०७७ मंगलबार १२:८,

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको सुधारका लागि प्रधानमन्त्रीको प्रतिवद्धता आवश्यक पर्ने बताएका छन्।

यसअघि जस्तो मन्त्रीले प्रोजेक्ट बाँडेर कृषिमा कहिल्यै परिवर्तन नहुने भन्दै मन्त्री भुसालले पुरानो व्यवस्था परिवर्तन गर्न प्रधानमन्त्रीको पनि साथ चाहिने बताए।

मंगलबार श्रम रोजगार पत्रकार समूहले गरेको छलफल (जुम मिटिङ) मा मन्त्री भुसालले भने, ‘मन्त्रीले लाख–लाखका प्रोजक्ट बाँडेर कृषिको विकास हुँदैन, उनीहरुलाई कहाँ अप्ठ्यारो परेको छ, त्यहाँ सहजीकरण गरिदिने हो। उनीहरुको उत्पादनलाई बजारसम्म पु¥याउने र भण्डारण गर्ने व्यवस्था सरकारले गरिदिने हो।’

कृषि क्षेत्रमा लगानी गर्छु भन्ने किसानलाई आर्थिक सहुलियत प्रदान गर्ने व्यवस्था पनि सरकारले गर्ने मन्त्री भुसालले बताए।

मन्त्री भुसालले कृषकलाई मन्त्रालयले मलबिउ बाँड्ने, विद्युतीय यन्त्रहरुमा अनुदान दिने र प्राविधिक सहयोग गर्ने बताए। यसका लागि ६ हजार जना दरबन्दी रिक्त रहेका प्राविधिक तत्काल पठाउने प्रक्रिया अगाडि बढाउने उनको भनाइ थियो।

अहिले कृषकका लागि लघुवित्तहरुले ऋण दिए पनि त्यो मिटरब्याजीको जस्तो कृषकले धान्नै नसक्ने रहेको भन्दै मन्त्री भुसालले यसबाट कृषकलाई एकै झड्कामा मुक्त गर्नुपर्ने बताए।

उनले भने, ‘दुई कट्ठा जग्गा र बाख्राका पाठा किन्नका लागि पनि मिल्ने गरी विना ब्याजको ऋण दिनुपर्छ, कृषि गर्छन् भने धनीले पनि ऋण पाउँछन्।’

साना किसानलाई तीन प्रतिशत ब्याजमा र ठूलालाई ५ करोडसम्म ५ प्रतिशत ब्याजमा दिनुपर्ने भुसालको प्रस्ताव छ।

यस्तै बृहत रुपका कृषि कर्म गरेकाहरुलाई पनि बजेटमा संबोधन गर्नुपर्ने बताए। बैंकको ब्याज १२ प्रतिशतसम्म भएको र त्यो कृषकले धान्न नसक्ने भन्दै ब्याजदर ५ प्रतिशतमा झार्नुपर्ने बताए।

‘७० वर्ष पहिले लगाएको नारा अब लगाउनु हुँदैन, मल, पानी, बिजुली, ऋण, प्राविधिक सहयोग र बीमाको व्यवस्था गरिदिनुपर्छ’, मन्त्री भुसालले भने।

यस्तै यसवर्ष सरकारले धानको मूल्य केही दिनमै घोषणा गर्ने बताए। मोटो र मध्यम धानको मूल्य बाली लाउनु पहिल्यै घोषणा गर्ने तर मसिनो जातको लागि केही समय लाग्ने मन्त्री भुसालले जानकारी गराए।

अर्थ मन्त्रालय ठूला राजश्व र भन्सारमा केन्द्रित भएको भन्दै उनले राज्य एक ठाउँमा उभिने हो भने आयातिक कृषिजन्य बस्तुमा २० प्रतिशत भन्सार लगाउन सकिने भुसालको ठम्याइ छ।
तर, आफूले अघि सारेका यी नीति कार्यनवयन हुन्छन्, हुँदैनन् भन्ने कुरा अन्य मन्त्रालय र प्रधानमन्त्रीको समेत कमिटमेन्टमा भर पर्ने कृषिमन्त्री भुसालको भनाइ छ।

वैदेशिक रोजगारीबाट फर्किने युवाहरु अहिलेकै अवस्थामा कृषिमा आकर्षित नहुने मन्त्री भुसालको बुझाइ छ। ‘विदेशबाट सबै मान्छे आउँछन् र खेती गर्न थाल्छन् भन्ने मलाई लाग्दैन, कृषि गर्न गाह्रो छ, निहुरिएर काम गर्नुपर्छ, नङमा माटो पस्छ’, मन्त्री भुसालले भने, ‘तर हिलोमा पस्न, हलो जोत्न र कोदालो खन्न तयार व्यक्तिले रोजगारी पाउँछ। बाँच्नु पुग्ने ज्याला हुन्छ। अरु मान्छेलाई ल्याउन सकिँदैन।’

यसका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम, कामका लागि खाद्यन्न जस्ता कार्यक्रमबाट व्यवस्थापन गर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .