सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद जनार्दन शर्माले रुकुम पश्चिमकाे चाैरजहारीमा भएकाे घटनाका विषयमा संसदमा बोल्न थालेपछि कांग्रेस सांसदहरुले होहल्ला गरेका छन्।
रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटना विषयमा मंगलबार प्रतिनिधि सभामा सांसद शर्माले बोल्दै गर्दा कांग्रेस सांसदहरुले होहल्ला गरेका हुन्।
रुकुम पश्चिमका सांसदसमेत रहेका शर्माले रुकुमको चौरजहारीमा दलित युवामाथि घटेको घटनाको विवरण दिएर वडाअध्यक्ष दोषी नभएको आशयकाे व्यक्त गरेपछि कांग्रेसका सांसदले उठेर प्रतिरोध गरेका थिए।
कांग्रेस सांसदले घटनाको संसदीय समितिबाट छानबिन गर्न माग गरिरहँदा सांसद शर्मा बोलेको भन्दै विरोध गरेपछि शर्मा आक्राशित समेत भएका थिए। उनले सभाामुखसँग समय मागरे बाेल्दा अवराेध गर्न नपाईने भन्दै नियमापत्ति समेत गरेका थिए।
रुकुमको चौरजहारी नगरपालिका–८ मा प्रेमिकासँग बिहे गर्न गएका जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित १८ जनालाई गाउँलेले कुटपिट गर्दै खेदेका थिए। सोही क्रममा मृत्यु भएका तीन जनाको शव फेला परेको छ भने तीन जना अझै बेपत्ता छन्।
कांग्रेस सांसदहरुले घटनाका विषयमा गृहमन्त्रीको जवाफ माग गरिरहेका बेला सभामुखसँग समय मागेर सांसद शर्माले बोल्न थालेपछि र सांसद शर्माले घटनासँग जोडिएका वडाध्यक्षले नै प्रहरीलाई बोलाएको भनेपछि कांग्रेस सांसदहरुले आपत्ति जनाएका हुन्।
आफू सभामुखसँग समय मागेर बोल्ने बेला होहल्ला भएपछि सांसद शर्मा जंगिएका थिए। सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेस सांसदहरुलाई बोल्न समय दिने भन्दै हाेहल्ला नगर्न आग्रह गरेका थिए।
‘मैले कुरा राख्न पाउँदिन? म त्यहाँको जनप्रतिनिधि हुँ, म त्यस क्षेत्रका दलितको पनि प्रतिनिधि हुँ, सबैको जनप्रतिनिधि हुँ, मैले बोल्न नपाउने?’ झोक्किँदै शर्माले भने, ‘मेरो क्षेत्रमा भएको घटनामा मैले बोल्न नपाउने? घटनाको छानबिन गर्नुपर्छ। यो घटनालाई राजनीतिकरण नगरियोस्, दोषीमाथि कारबाही गरियोस्।’
सांसद शर्माले घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कारबाही गर्न संसदीय र अन्य समिति बनाउन समेत माग गरे।
उनले सत्यतथ्य पत्ता लगाउनका लागि गरिने छानविनका लागि त्यहाँको जनप्रतिनिधि भएका कारण आफूले सहयोग गर्ने बताए।
‘घटनाको संसदीय र अन्य समित बनाएर छानविन गरी दोषीलाई कारबाही गरियोस्’, सांसद शर्माले भने, ‘यो घटनालाई राजनीतिकरण नगरियोस्, सत्यतथ्य छानविनका लागि त्यहाँको जनप्रतिनिधि भएको नाताले म सहयोग गर्न तयार छु, म सहयोग गर्छु।’ उनले रुकुमका जनताहरु पनि सत्यतथ्य छानविनका लागि तयार रहेको बताए।
Shares

प्रतिक्रिया