सरकारले होटलहरुलाई पनि क्वारेन्टिनको रुपमा प्रयोग गर्न चाहँदा पछि हटेका ठूला होटल व्यवसायी अन्ततः क्वारेन्टिन बनाउन शर्तसहित राजी भएका छन्।
साना व्यवसायीहरुको संस्था होटल व्यवसायी महासंघ यसअघि नै आफ्ना होटल क्वारेन्टिनको रुपमा प्रयोग गर्न तयार भए पनि होटल्स एसोसिएसन अफ नेपाल (हान)भने तयार भएको थिएन ।
सोमबार पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेलाई आफूहरु क्वारेन्टिन बनाउन तयार रहेको भन्दै हान पदाधिकारीले शर्तसहितको प्रतिवेदन बुझाएका थिए।
‘हामीले पहिला पनि हानका प्रतिनिधिसँग क्वारेन्टिन बनाउन छलफल गरेका थियौं। उहाँहरु तयार नभएकाले जबर्जस्ती गरेनौं’, महानिर्देशक घिमिरेले भने, ‘साना होटल व्यवसायी क्वारेन्टिन बनाउन तयार भएपछि हान पनि तयार भएको बुझेको छु।’
सरकारले विदेशबाट फर्किने नेपाली तथा अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई होटलमा राख्न सकिने बताएको छ। केही दिनअघि अग्रपंक्तिमा काम गरिरहेका डाक्टरलाई ठूला होटलले बस्न नदिँदा मझौला होटलमा बस्नुपरेको थियो।
हानले विभागमा बुझाएको प्रतिवेदनमा कोरोना परीक्षण गरेपछि मात्रै होटलमा बस्न दिने प्रमुख शर्त राखेको छ।
विदेशबाट आएका नागरिकमा कोरोना नेगेटिभ भए पनि क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था छ। सरकारले हालसम्म करिब ५८ हजार नागरिक राख्नसक्ने क्वारेन्टिन मात्रै बनाएको छ। तर विदेशबाट लाखौं नेपाली आउन चाहेको बेला क्वारेन्टिनको रुपमा होटल प्रयोग गर्न सकिने व्यवसायीले बताएका छन्।
होटल व्यवसायीहरुका यस्ता शर्त
पर्यटकस्तरका होटलमा क्वारेन्टिनको रुपमा बस्नेले ३ हजारदेखि ८ हजारसम्म तिर्नुपर्ने व्यवसायीहरुले बताएका छन्। पर्यटकस्तरका साना होटलले ३ हजार र पाँच तारेस्तरका होटलले ८ हजार शुल्क पाउनुपर्ने उनीहरुको माग छ।
उक्त शुल्क चार छाक पौष्टिक स्वास्थ्यवद्र्धक आहार, आवश्यक पर्ने सबैखाले आधारभूत सेवासुविधा, सञ्चार, पानी, बिजुलीलगायतका कामदार कर्मचारीको पारिश्रमिक, सेवा शुल्क, कर दस्तुर सबै खर्चहरु नेपाल सरकारको वर्गीकरणअनुसार पर्यटकस्तरीयदेखि पाँचतारे होटलहरुमा लाग्ने अनुमानित खर्च भएको हानले दाबी गरेको छ।
‘हामीले त ६ महिना होटल बन्द गर्ने निर्णय गरिसकेका थियौं’, हानका प्रथम उपाध्यक्ष विनायक शाहले भने, ‘होटल क्वारेन्टिनको रुपमा प्रयोग गर्ने सरकारले निणर्य गरे सरकारी मापदण्डअनुसार सञ्चालन गर्न सबै सदस्यलाई आग्रह गर्छौं।’
उनले होटलमा स्वास्थ्य मापदण्ड अपनाउँदा खर्च बढी हुने र पूर्ण क्षमता उपयोग गर्न नसकिने बताए। ‘व्यवसाय पूरै ठप्प भएको अवस्था र सरकारलाई पनि क्वारेन्टिनको आवश्यकता महशुस भएको बेला हामीले समन्वय गछौं भनेका हौं’, उनले नेपालखबरसँग भने।
होटलको क्षमता कति ?
पर्यटकस्तरदेखि पाँचतारे होटलहरु सदस्य भएको होटल्स एसोसिएनमा ३५ सय होटलहरु सदस्य छन्। त्यस्तै साना होटल, पार्टी प्यालेसहरु आबद्ध भएको होटल व्यवसायी महासंघमा ८० हजार व्यवसायी छन्।
‘तारे होटलमा २०१८ मा बेड क्षमता ११ हजार रहेकोमा अहिले करिब १५ हजार क्षमता पुगेको छ’, पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले भने, ‘अन्य होटल प्रदेशमा दर्ता हुनाले अहिले अद्यावधिक विवरण छैन। २०१८ सम्म दर्ता रहेका पर्यटकस्तर होटलमा मात्रै ३० हजार बेड संख्या रहेको छ।’
भम्रण वर्ष २०२० अघि होटल व्यवसायीहरुले २५ लाख पर्यटक धान्ने स्तरीय होटल रहेको दाबी गरिरहेका थिए।
नेपालका अधिकांश साना होटलहरु दर्ता छैनन्। आर्थिक गणना २०७५ले खाना तथा आवाससम्बन्धी १ लाख ३० हजार व्यवसायी रहेकोमा दर्ता करिब ४८ हजार मात्रै भएको देखाएको छ। व्यवसायीहरुसँग समन्वय गरी दर्ता नभएका होटलहरुमा पनि क्वारेन्टिनको व्यवस्था गर्न सकिन्छ।
‘सबैलाई काठमाडौंमै क्वारेन्टिनमा राख्ने हो भने त क्षमता पुग्दैन तर जुन जिल्लाको हो, त्यो जिल्लामा क्वारेन्टिन राख्ने व्यवस्था भए होटलहरुमा लाखौं मानिस राख्न सकिन्छ’, शाहले भने, ‘सरकारले व्यवसायीको प्रतिनिधि राखेर समिति बनाई काम अगाडि बढाउँदा उपयुक्त हुन्छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मात्रै देशवासीको नाममा सम्बोधन गर्दै विदेशबाट नेपाली ल्याउने तयारी भएको र होटललाई क्वारेन्टिनको रुपमा प्रयोग गर्ने बताएका थिए। तर विदेशबाट कति मानिस ल्याउने कहाँ राख्ने भन्ने सरकारले स्पष्टरुपमा भनेको छैन।

प्रतिक्रिया