राजनीति


परराष्ट्रमन्त्रीको बेइजिङ डायरीः चिनियाँ व्यवसायीलाई दिए नेपाल आउने निम्तो

परराष्ट्रमन्त्रीको बेइजिङ डायरीः चिनियाँ व्यवसायीलाई दिए नेपाल आउने निम्तो

नेपालखबर
असार २, २०८३ मंगलबार २०:४३, काठमाडौँ

चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार राजनीतिक नेता, व्यवसायीसँग दुई पक्षीय भेटवार्ता गरेका छन्। अन्तर्राष्ट्रिय मिडियासँग साक्षातकार गरेका उनी दिउँसो अरनिकोले डिजाइन गरेको श्वेत चैत्यको अवलोकन गर्न समेत पुगेका छन्।

बालेन्द्र सरकार बनेपछि खनाल पहिलो पटक चीन भ्रमणमा गएका हुन्। उनले दुई पक्षीय सम्बन्ध थप सुदृढ बनाउन आफ्ना भेटवार्ता उपयोग गरेका छन्। मंगलबार उनले चिनियाँ तथा अन्य अन्तर्राष्ट्रिय मिडियाका सञ्चारमाध्यमसँग अन्तरक्रिया समेत गरे।

बेइजिङस्थित नेपाली दूतावासले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नेपालको नवगठित सरकारका प्राथमिकता र अन्तर्राष्ट्रिय जगतसँग नेपालको संलग्नताबारे आफ्नो धारणा राख्नुभयो।’

चिनियाँ उद्योगी व्यवसायीसँगको अन्तरक्रियापछिको सामूहिक तस्विर

साँझ उनले नेपालमा चिनियाँ लगानी प्रवर्ध्दन गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा भाग लिए। ‘उहाँले चिनियाँ व्यवसायी, उद्यमी र लगानीकर्ताहरुसँग फलदायी भेटवार्ता गर्नुभयो’, दूतावासले भनेको छ। कार्यक्रममा लगानी बोर्डका प्रतिनिधिले नेपालमा लगानीका अवसरबारे प्रस्तुतिकरण दिएका थिए।

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका निमन्त्रणा गरे। नेपालको आर्थिक अवसर र जनसांख्यिकीय सबल पक्ष पेश गर्दै उनले थप अनुकूल र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहो जानकारी दिए।

परराष्ट्रमन्त्री खनाल सीपीपीसीसीका नेशनल कमिटीका अध्यक्ष वाङ हुनिङसँग

आजै बिहान परराष्ट्रमन्त्री खनालले बेइजिङमा चाइनिज पिपल्स पोलिटिकल कन्सल्टिभ कन्फरेन्स अफ द पिपल्स अफ चाइना (सीपीपीसीसी)का नेशनल कमिटीका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका थिए। आर्थिक कनेक्टिभिटीका अन्तरदेशीय पहल र रणनीति बनाउन सीपीपीसीसीको महत्वपूर्ण भूमिका हुनेगर्छ।

यो भेटमा उनले विकास सहयोग, व्यापार, लगानी, पर्यटन केन्द्रित छलफल गरेका थिए। राजनीतिक आदान–प्रदान, नागरिक–नागरिक स्तरको सम्बन्ध मजबुत बनाउने विषयमा दुइ पक्षीय छलफल भएको थियो।

श्वेत चैत्य अवलोकनका क्रममा अरनिकोको मूर्ति अगाडि खिचिएको तस्विर
आज मंगलबार नै उनले अरनिकोले डिजाइन गरेको श्वेत चैत्यको अवलोकन गरेका थिए। नेपाल-चीन सम्बन्धको इतिहास स्मरण गराउन यो चैत्य बेइजिङको महत्वपूर्ण पुरातात्विक स्मारकमध्ये एउटा हो। पछिल्लो समय नेपाल–चीन कुटनीतिक सम्बन्धलाई कसिलो पार्न अरनिकोले ७ सय वर्षभन्दा अघि बनाएको यो उत्कृष्ट कलालाई पनि स्मरण गरिन्छ।

परराष्ट्रमन्त्री खनालले हिजो सोमबार चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीसँग दुई पक्षीय भेटवार्ता गरेका थिए। त्योभन्दा अगाडि उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग पनि भेटवार्ता गरेका थिए।

मन्त्री खनाल भोलि असार ३ गते स्वदेश फर्किनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad