नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले पार्टीमा आफूहरूले भागबन्डाको कुरा नगरेको दाबी गरेका छन्।
बिहीबार बिहान बाँसबारीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महतले १५ औं महाधिवेशनको सुनिश्चितता र निष्पक्षता मात्रै आफूहरुले खोजेको बताए।
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज सकिँदै छ। जेठ २८ गते राति १२ बजेसम्म मात्रै सदस्यता अध्यावधिक गर्न सकिने कांग्रेसले जनाएको छ। यही सन्दर्भमा नेता महतको भनाइ आएको हो।
‘महाधिवेशनका लागि एउटा संयन्त्र बनाएर जाँदा महाधिवेशनको सुनिश्चितता र निष्पक्षता हुन्छ,’ उनले भने, ‘हामीलाई सदस्यता डिजिटल गराउने कुरामा समस्या छैन। पहिले सदस्यता नवीकरण गरेका साथीहरूलाई डिजिटल गर्ने कुरामा आपत्ति छैन। तर, नवीकरण गरिसकेका साथीहरूलाई गाडी छुटिसक्यो भनेर गाडीभित्रै रहेका साथीहरूलाई गलहत्याउने काम गर्नु हुँदैन।’
उनले सदस्यता डिजिटल गराउने कुरा केन्द्रको भएको बताए।
‘वर्षौँ पार्टीमा लागेका साथीहरूलाई गाडीबाट निकाल्ने काम नगरौं,’ उनले भने, ‘हामी पार्टी एकताका लागि तयार नभएको, अलगिन लागेको भन्ने कुरा गलत हो।’
महतले विशेष महाधिवेशनबाट आएका नेतृत्व छोटो समयका लागि भएको बताए। भ्रातृ संगठनमा नेतृत्व चयन र विधान संशोधन गर्ने कुरा उपयुक्त नहुने उनको धारणा थियो। ‘१५ औँ महाधिवेशनको निष्पक्षता र सुनिश्चितता हाम्रो मुख्य माग हो,’ उनले भने।
कांग्रेसले भने छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अध्यावधिक गरिसक्न अपिल गरेको छ।
पार्टीका अनुसार क्रियाशील सदस्यता अध्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये जेठ २७ गते हिजो बेलुकासम्म ४ लाख ५७ हजार ३६६ जनाले एसीआईडी प्राप्त गरिसकेका छन्।
त्यस बाहेक थप १ लाख २४ हजार ७४८ जनाले स्वयं अध्यावधिक फाराम पेस गरी अध्यावधिक प्रक्रियामा सहभागी भइसकेका कांग्रेसले जनाएको छ।

प्रतिक्रिया