राजनीति


प्रदेश १ मा ४० हजार बढीको पीसीआर परीक्षण हुने

प्रदेश १ मा ४० हजार बढीको पीसीआर परीक्षण हुने

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार १३:२०,

प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण हुने भएको छ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजना स्वीकृत समेत गरेको छ।

भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोभिड—१९ संक्रमित पहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो। दैनिक एक हजारका दरले पीसीआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए।

स्वीकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुको वर्गीकरण समेत गरेको छ। उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको छ। उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो। हाल प्रदेश १ मा चार हजार एक सय बढीको पीसीआर परीक्षण भइसकेको छ।

कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत बृद्धि गरिने भएको छ। यसका लागि कोशी कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २ सय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहश्रेत्र २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड थपिने भएको छ।

यसैबीच प्रदेश मा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको व्यवस्थापन गर्र्ने संयुक्त कार्ययोजना समेत स्वीकृत गरिएको छ। स्वीकृत कार्ययोजना अनुसार ईलाम, झापा, मोरङ र सुनसरी जिल्लामा होल्डिङ एरिया पहिचान गरी निर्माण समेत थालिएको छ। होल्डिङ एरियामा १५ हजार बेड संख्या बन्ने भएको छ। ईलाममा २ हजार, झापामा ४ हजार, मोरङमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेड तयार हुन थालेका छन्। यतिबेला यी जिल्लाका १० ठाउँमा ११ सय ३ वटा बेड बनिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad