राजनीति


हर्क साम्पाङजस्ता ‘अर्गानिक’ नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ: सुदन किराती

हर्क साम्पाङजस्ता ‘अर्गानिक’ नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ: सुदन किराती

नेपालखबर
जेठ १९, २०८३ मंगलबार ११:५८, काठमाडौँ

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालमा वर्षौंदेखि स्थापित राजनीतिक नेतृत्वले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै अब ‘अर्गानिक’ नेतृत्वको आवश्यकता रहेको बताएका छन्। 

गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै किरातीले परम्परागत राजनीतिक दल र नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै देशलाई सही दिशा दिन नेपालकै माटोबाट उदाएका, जनतासँग प्रत्यक्ष जोडिएका नेताहरूलाई नेतृत्वमा ल्याउनुपर्ने बताए। उनले विगतदेखि नै राजनीतिक क्षेत्रमा सीमित समूहको वर्चस्व कायम रहेको उल्लेख गर्दै नयाँ पुस्ताको नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिए। 

प्रधानमन्त्री वालेन्द्र शाहप्रति जनताले ठूलो आशा राखेको भए पनि अपेक्षाअनुसार परिणाम आउन नसकेको उनको भनाइ थियो। शाहले गरिब तथा विपन्न वर्गका विषयमा उठाएका मुद्दा र व्यवहारबीच असन्तुलन देखिएको आरोप लगाए। उनले योजनाविना गरिएका कतिपय निर्णयले गरिब तथा कमजोर वर्ग प्रभावित भएको उल्लेख गरे। 

राष्ट्रियता र कूटनीतिसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा व्यक्त गरिएका केही अभिव्यक्तिले नेपालको राष्ट्रिय अडान कमजोर बनाएको उनको भनाइ थियो। देशको नेतृत्व उमेर वा अनुहारका आधारमा नभई स्पष्ट दृष्टिकोण, नीति र कार्ययोजनाका आधारमा हुनुपर्ने उनले बताए। 
‘नेपाल र नेपालीले लामो समयदेखि भोग्दै आएको समस्याको अन्त्य गर्न अब कतैबाट निर्माण गरिएको वा कृत्रिम रूपमा स्थापित नेतृत्व होइन, नेपालकै माटोमा हुर्किएको अर्गानिक नेतृत्व आवश्यक छ,’ किरातीले भने, ‘हर्क साम्पाङजस्ता जनतासँग प्रत्यक्ष जोडिएका नेतालाई प्रधानमन्त्री बनाउन सकियो भने मात्रै देशले सही गति लिन सक्छ।’

जनतामाझ श्रम, इमानदारी र परिणाममुखी कार्यसंस्कृतिको प्रतिनिधित्व गर्ने नेतृत्वको खोजी भइरहेको उनको भनाइ थियो। देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको दाबी गर्दै श्रम संस्कृति पार्टीले त्यही विकल्प प्रस्तुत गर्ने प्रयास गरिरहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad