कारोबार


उपभोगमा आधारित अर्थतन्त्रले रोजगारी सिर्जना गर्दैन: डा. युवराज खतिवडा

उपभोगमा आधारित अर्थतन्त्रले रोजगारी सिर्जना गर्दैन: डा. युवराज खतिवडा

नेपालखबर
जेठ १९, २०८३ मंगलबार १२:२०, काठमाडौँ

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्न नसक्ने बताएका छन्। 

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै डा. खतिवडाले अहिलेको सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको बताए। सरकारले आगामी बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको र तर त्यो प्राप्त गर्न कम्तीमा २२ देखि २४ प्रतिशतले आयात बढ्नुपर्ने बताए।

‘आगामी बजेटमा राखिएको ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न कम्तीमा २२-२४ प्रतिशत आयात बढ्नुपर्छ। त्यसले पनि केही हदसम्म सन्तुलन ल्याउन सक्छ,’ उनले भने। 

सरकारले १०-२० वर्षसम्म करका दर परिवर्तन नगर्ने आश्वासन दिए पनि व्यवहारमा त्यस्तो नदेखिएको उनले टिप्पणी गरे। ‘अब, १० वा २० वर्षसम्म करका दरहरू परिवर्तन नहुने भन्ने कुरा गरिएको छ। तर मेरो एउटा प्रश्न छ- यदि त्यसो हो भने अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा कर्पोरेट करको दर किन घटाउनुभएन? उपभोगसँग सम्बन्धित करहरू सबै समायोजन गर्ने, तर उत्पादनसँग सम्बन्धित करहरू र उत्पादनलाई प्रोत्साहन गर्ने करहरूमा कहाँ सुधार गरियो त?,’ उनले प्रश्न गरे, ‘वास्तवमै उद्यमशीलतालाई प्रोत्साहन गर्ने हो भने २५ र २० प्रतिशत रहेको कर्पोरेट करको दरलाई क्रमशः २० र १५ प्रतिशतमा किन नझारिएको?’

उनले व्यक्तिगत आयकरको माथिल्लो सीमा ३९ प्रतिशतबाट २९ प्रतिशतमा झार्नुले फेरि पनि उपभोगमा आधारित आर्थिक वृद्धिलाई नै प्रश्रय दिएको बताए। ‘व्यक्तिगत आयकरका दरहरू ३९ प्रतिशतबाट २९ प्रतिशतमा झारेर फेरि उपभोग-आधारित आर्थिक वृद्धिको प्रक्रियालाई नै अगाडि बढाइँदै छ,’ उनले प्रश्न गरे, ‘के यही नै हाम्रो आर्थिक रूपान्तरण हो?’

रोजगारी केन्द्रित आर्थिक रुपमान्तरणका लागि उत्पादनमुलक उद्योगमा जोड दिनुपर्ने उनले बताए। तर, अहिलेको बजेटमा साना तथा मझौला उद्यमबारे केही कार्यक्रम नभएको उनले भनाइ छ। 

‘उपभोग-आधारित अर्थतन्त्रले रोजगारी सिर्जना गर्दैन। यदि साँच्चिकै रोजगारी-केन्द्रित आर्थिक रूपान्तरण गर्ने हो भने उत्पादनमूलक उद्योग, विशेषगरी साना, मझौला तथा घरेलु उद्योगहरूको स्थापना र विस्तारमा जोड दिनुपर्छ,’ खतिवडाले भने, ‘तर साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रका बारेमा बजेटमा खासै केही बोलिएको छैन।’

अहिले बैंकहरूमा तरलता बढ्नुको कारण रेमिटेन्स भएको डा. खतिवडाले बताए। रेमिटेन्स कम हुने वितिक्कै तरलता कम हुने उनको भनाइ थियो। 

‘वित्तीय क्षेत्रमा बढ्दो तरलता हुनुको एउटा प्रमुख कारण के हो भने रेमिट्यान्सबाट आएको पैसा बैंकहरूले राष्ट्र बैंकलाई डलर बुझाएर त्यसको सट्टामा नेपाली मुद्रा आफूसँग जम्मा गरेका छन्। त्यसैले तरलता बढेको हो,’ खतिवडाले भने, ‘यसको केही समस्या त मध्यपूर्वमा भइरहेको युद्धले नै समाधान गरिरहेको छ। त्यो आफैँमा एक प्रकारले सेल्फ-करेक्टिङ प्रक्रिया हुन सक्छ।’

साना, मझौला तथा घरेलु उद्योगको विस्तारविना कृषिबाट औद्योगिक क्षेत्रमा आर्थिक रूपान्तरण असम्भव रहेको खतिवडाले बताए। बजेटले एसएमई क्षेत्रका लागि पूँजी परिचालन, प्रविधि र बजार संरक्षणका बारेमा कुनै ठोस योजना नल्याएको उनको आरोप छ। 

खतिवडाले व्यवसायीहरूको आत्मविश्वास जगाउन र लगानीको वातावरण बनाउन करका दरहरूमा रणनीतिक परिवर्तन आवश्यक रहेकोमा जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad