नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सभामुख डोलप्रसाद अर्यालकै भनाइ सदनको रेकर्डबाट हटाउन माग गरेका छन्। आज (आइतबार) को संसद् बैठकमा उनले सभामुखले प्रतिनिधिसभा नियमावलीविपरीतका शब्दहरू बोलेको भन्दै रेकर्डबाट हटाउन माग गरेका हुन्।
‘हामी कोही पनि प्रतिनिधिसभा नियमावलीभन्दा माथि छैनौँ। नियमावलीकै आधारमा सदन चल्ने हो,’ उनले भने, ‘सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको जानकारी तीन दिनअगावै जानकारी दिनुपर्ने नियमावलीमा कहीँ पनि छैन भन्नुभयो, यो नियमावली विपरीत छ, स्वयं सभामुखकै शब्द रेकर्डबाट हटाउन माग गर्छु।’
उनले यस विषयमा परिच्छेद ९ को ५६ देखि ५९ सम्मका नियमहरूमा प्रश्नोत्तरबारे स्पष्टरूपमा उल्लेख गरिएको बताए। ‘हामीले १५ जना सांसदहरूले व्यक्तिरूपमा प्रश्न गर्न पाउनुपर्छ भनेका हौँ, दलगत होइन,’ उनले भने, ‘६ जनासम्मको मात्रै प्रश्न लिइयो, प्रधानमन्त्री रोस्ट्रममै भएका बेलासमेत समय माग गर्दा समय दिइएन।’
Shares

प्रतिक्रिया