नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सदस्यता अद्यावधिकका नाममा कार्यकर्तामाझ डर र त्रास सिर्जना गरिएको बताएका छन्।
सत्ता र शक्तिको आडमा पार्टीको विधान र पद्धति मिच्ने कार्य रोकिनुपर्ने भन्दै विधिको शासनका लागि लडेको पार्टीभित्रै विधिको उल्लंघन हुनु विडम्बनापूर्ण भएको उनले बताए। कांग्रेसलाई संस्थापक नेताहरूले निर्दिष्ट गरेको मूल्य–मान्यता र आदर्शअनुरूप अगाडि बढाउनुपर्नेमा जोड दिए।
‘हाम्रा आदरणीय संस्थापक नेताहरूले जुन संस्कार र मूल्य–मान्यताका आधारमा कांग्रेस स्थापना गर्नुभयो, त्यसलाई जीवन्त राख्नु आजको मुख्य चुनौती हो,’ सिंहले भने, ‘१५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण र नयाँ वितरण भइसकेको अवस्थामा फेरि अद्यावधिक गर्ने नाममा कार्यकर्तामाझ डर र त्रास सिर्जना गर्नु उचित हुँदैन।’
बिहीबार धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति स्वर्गीय श्यामनिधि यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता सिंहले पार्टीभित्र विधिको शासन स्थापित गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको बताए। कांग्रेसको नेतृत्वमा जारी भएको वर्तमान संविधानको रक्षा गर्दै जनताका इच्छा र आकाङ्क्षाहरू पूरा गर्न पार्टीले आफ्ना कमी–कमजोरीहरू सुधार गर्नुपर्ने उनको भनाइ थियो।
कांग्रेसको आन्तरिक विवाद र आसन्न १५औँ महाधिवेशनका विषयमा चर्चा गर्दै नेता सिंहले हाल पार्टी दुई धारमा विभाजित देखिएको टिप्पणी गरे। उनले विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर गरी दुई समूह देखिएकाले १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउनुपर्नेमा जोड दिए।
यसका लागि दुवै पक्षलाई विश्वासमा लिने गरी एउटा साझा र भरपर्दो संयन्त्र निर्माण गरेर मात्र महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्ने उनको भनाइ थियो। प्रविधिको प्रयोगको नाममा विधि र प्रक्रिया मिचेर आफ्ना पक्षकालाई मात्र स्थान दिने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने उनले बताए।
देशको वर्तमान राजनीतिक परिस्थिति र लोकतान्त्रिक प्रणालीमाथि आइलागेका चुनौतीको सामना गर्न कांग्रेस एकढिक्का हुनुपर्नेमा उनको जोड थियो।
Shares

प्रतिक्रिया