जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, जोसुकैलाई पनि कारबाही गर्नुपर्ने नेपाली कांग्रेसले जनाएको छ।
बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकमा मानव अधिकार आयोगको प्रतिवेदनमाथि पनि छलफल भएको थियो। आयोगले औँल्याएका जुनसुकै व्यक्तिलाई पनि कानुनसम्मत रुपका कारबाही गर्नुपर्ने कांग्रेसको ठहर छ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले कानुनसम्मत रुपमा जानुपर्ने विषयमा छलफल भएको बताइन्। कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि कारबाहीको लागि सिफारिस गरिएको छ।
यस विषयमा सोधिएको प्रश्नमा प्रमुख सचेतक थापाले भनिन्, ‘भदौ २३ मा जति जनालाई भन्नु भएको छ, भदौ २४ मा पनि त्यति जना हुनुहुन्छ। कानुनसम्मत जानुपर्छ, कानुनभन्दा माथि कोही पनि हुँदैन। कानुनसम्मत जो कोही आउँछ भने पनि यसमा नेपाली कांग्रेसले स्वीकार गर्नेछ।’
मानव अधिकार आयोगको प्रतिवेदनलाई अगाडि बढाउनुपर्ने कांग्रेसको धारणा रहेको उनले बताइन्। ‘यसलाई अगाडि बढाउनुपर्छ, यसमा हामीले पूर्ण साथ दिन्छौँ,’ थापाले भनिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १७ जना सांसदमाथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको छ। यस विषयमा कांग्रेसको धारणबारे सोधिएको प्रश्नमा प्रमुख सचेतक थापाले भनिन्, ‘जति पनि मुछिनु भएको छ, सबैलाई कानुनको दायरामा ल्याउनुपर्छ।’
Shares

प्रतिक्रिया