विश्वभक्त दुलाल (आहुति) नेतृत्त्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन वैज्ञानिक सामाजवादी विद्यार्थी संगठनको प्रथम राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदैछ।
यही जेठ १७ गतेसम्म काठमाडौँमा सञ्चालन हुने प्रथम राष्ट्रिय सम्मेलन बालेन शाह नेतृत्वको सरकारले विश्वविद्यालय र क्याम्पसमा विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाउने तयारी विरुद्धको प्रतिरोध कार्यक्रम भएको सो संगठनले जनाएको छ।
विद्यार्थी संगठनलाई प्रतिबन्ध लगाउने सरकारी कदमविरुद्ध सडक मार्फत् खबरदारी गर्ने हेतुले काठमाडौँको माइतीघर मण्डलामा खुला सत्रसहित सम्मेलनको उद्घाटन गरिने सो संगठनले जनाएको छ।
सभाअघि मार्चपाससहित र्याली गरिने वैज्ञानिक समाजवादी पार्टीकी नेता रुपा सुनारले जानकारी दिइन्।
सम्मेलनको उद्घाटन सत्रअघि सरकारको फाँसीवादी र गैरजनमुखी हर्कतविरुद्ध प्रदर्शन गरिने उनको भनाई छ।
पुरानो विद्यार्थी आन्दोलनले नयाँ युग हाँक्न नसक्ने दावी गर्दै सो संगठनले आजको संकटको घडीमा नयाँ वैचारिकीसहित हस्तक्षेपको निरन्तरताले मात्रै नयाँ युगको नयाँ विद्यार्थी आन्दोलनको नेतृत्व गर्न सकिने जनाएको छ।
‘नयाँ युगको नयाँ विद्यार्थी आन्दोलन, उत्पादन, राष्ट्रिय स्वाधीनता र शैक्षिक पुनर्जागरणका लागि प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने मुल नारा सहित हुने सम्मेलनको आज खुला सत्र र जेठ १६ र १७ गते बन्दसत्र हुने सुनारले बताइन्।

Shares

प्रतिक्रिया